फिल्म ‘क्लासिक’को छायांकन सुरु गरिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टले संयुक्त रुपमा क्लासिक’बनाउन लागेको हो । चोभारमा रहेको गणेश मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दुई बाल कलाकारले फिल्मको पहिलो दिन सट दिएका छन् । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा सुमिन मानन्धर र सेमिना कोइराला देखिदैछन् ।
अभिनेता सिग्देलले लामो समयपछि फिल्मको छायांकन सुरु भएको खुशी व्यक्त गरे । उनले ‘क्लासिक’एउटा उत्कृष्ट प्रेम कथाको फिल्म बन्नेमा विश्वास व्यक्त गरे । दिनेश राउतको निर्देशन रहने फिल्ममा आर्यन र नम्रताको साथमा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेतको मुख्य भूमिका रहनेछ ।
फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर छ । फिल्ममा एसोसियट निर्देशक विकास सुवेदी, मुख्य सहायक निर्देशक दिनेश रावत रहनेछन् । शान थापा पब्लिसिटी डिजाइनर रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध, रेनशा राइको नृत्य, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ । फिल्म भ्यालेन्टन टाइन डेमा प्रदर्शनमा आउनेछ ।

