नेपाली फिल्म क्षेत्रमा बोल्नेकै पिठो विक्छ भनिन्छ । बोल्न सक्नेले राम्रै प्रगती गरेका छन्, बोल्न नसक्ने पछाडि परेका छन् । अभिनेत्री अनु शाहलाई पनि सोझी अभिनेत्रीको रुपमा फिल्म क्षेत्रमा चिनिन्छ ।अनु नेपालमा आयोजना हुने अधिकांश अवार्ड समारोहमा नृत्य गर्छिन् । तर, अनुले आजसम्म अवार्ड खासै पाएकी छैनन् । तर, पनि अनुले अवार्ड शोमा आफ्नो प्रस्तुती दिन नाई भनेको पाइदैन ।
यो बर्षमात्र आयोजना भएका २ अवार्डमा अनु शाह हराइन् । उनको चर्चा जती हुनुपथ्र्यो, त्यती भएन । उनले मिहिनेत त गरिन्, तर भिडमा उनी हराइन् । सायद, उनलाई आफू सोझी हुँ भन्ने लाग्छ । अनुले एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा नृत्य त गरिन्, तर उनको नाम समेत स्टेजमा उच्चारहण भएन । करिब १ महिनासम्म तयारी गरेर नृत्य गरेकी अनु अवार्डको भिडमै हराइन् । काम त गरिन्, तर न उनको चर्चा भयो न केही ।
कतारमा आयोजना हुन लागेको आठौ नेफ्टा फिल्म अवार्डमा पनि अनुले नृत्य गर्नका लागि एक महिना तयारी गरिन् । अनु नृत्य गर्नकै लागि मात्र कतार पुगिन् । कतार पुग्दा दुबइको एयरपोर्टमा करिब २ दिन दुख पनि पाइन् । तर, कार्यक्रम ढिलो सुरु हुँदा अनुले नृत्य गर्न पाइनन् । करिब १ महिना गरेको तयारी खेरा गयो । अनु कतार पुगिन्, अवार्ड हेरिन् र फर्किइन् ।
सायद, अनुलाई अवार्ड समारोह खासै फापेको देखिदैन । अनु यी कुराबाट केही चिढिएकी पनि छन् । के उनले अब फेरि अवार्ड समारोहमा नृत्य गर्लिन् ?

