आठौ नेफ्टा फिल्म अवार्डका लागि करिब ५० वटा फिल्म हेरेर नजिता निकालेका ५ जुरीले अवार्डमा वितरण भएका सबै विधाका निर्णयको जिम्मा लिएका छन् । जुरी मध्येका एक निर्देशक तथा कलाकार विरेन्द्र हमालले जुरीको निर्णय विपरित अवार्ड वितरण गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । विरेन्द्रको भनाई सार्वजनिक भएको भोलीपल्ट ५ जना जुरीले सबै निर्णयको जिम्मेवारी लिएका हुन् ।
जुरीका संयोजक नारायण पुरीसहित भरत शाक्य, विश्वेश श्रेष्ठ, रक्षा राणा, करुण थापाको हस्ताक्षर सहितको विज्ञप्तीमा भनिएको छ–‘कतारमा सम्पन्न अवार्ड कार्यक्रमका सम्पुर्ण निर्णयहरु निर्णायकहरुबाट स्वतन्त्र र गोप्य रुपमा सहमतीमा भएकोले सम्पूर्ण निर्णयहरुमा निर्णायकहरु जिम्मेवार भएको जानकारी गराउछौ ।’
उनीहरुले अवार्डमा वितरण गरिएका सबै विधाका पुरस्कारको निर्णय जुरीले गोप्य रुपमा गरेकाले कुनै किसिमको भ्रममा नपर्न पनि आग्रह गरेका छन् । साथमा ५ जना जुरीले अवार्ड विजेता सबैलाई वधाई ज्ञापन गरेका छन् ।

