कविको समेत परिचय बनाएका अभिनेता जीवन लुईंटेलले कविता संग्रह नै निकालेर आफ्नो यो चिनारीलाई मूर्त रुप दिने भएका छन् । जीवनले ‘नायक’ शीर्षकमै कविता संग्रह निकाल्न लागेका हुन् । उनको कविता संग्रह आउँदो सोमबार अभिनेता राजेश हमालले बिमोचन गर्नेछन् ।
अमेरिकामा रहेका हमाल आइतबार नेपाल फर्कने र सोमबार बिमोचन गर्ने जीवनले जानकारी गराए । 'सुब्बा साब'को सुटिङका लागि बुटवल रहेका जीवन पनि आइतबार नै काठमाडौ फर्कनेछन् । जीवनले कविता संग्रहमा १० साल यता लेखेका कविता संग्रह गरेको जानकारी गराए ।
‘स्कुले जीवनदेखिनै कविता लेख्दै आएको थिएँ । अभिनेता बन्ने धूनमा बीचको समयमा लेखनबाट अलि टाढिएको थिएँ । व्यस्तताका बीच पनि लेखेका कुरालाई संग्रहको स्वरुप दिएको हुँ,’ जीवनले भने । जीवनले कविता संग्रहमा तीन दर्जन कविता रहेको जानकारी गराए ।
जीवनले तीन साल अघि कान्तिपुर कोसेलीमा छापिएको ‘नायक’कविताले फेरि कविताको दुनियाँमा फर्काएको बताए । ‘कोसेलीमा छापिएको कविताको प्रतिक्रियाले म भित्र मर्दै गएको कविलाई व्युँताएको थियो । अहिलेका संग्रह त्यसैको निरन्तरता हो,’ जीवनले भने । पुस्तकलाई पैरवी प्रकाशनले निकाल्न लागेको हो ।

