तिहारमा रिलिज हुन लागेको सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ले रिलिज अगावै २ सय तीन करोड कमाई गरेको छ । फिल्मले विभिन्न अधिकार बिक्रि वापत् यत्तिको कमाई गरेको हो । राजश्री प्रोडक्सनले बनाएको फिल्मले वितरण अधिकार वापत् मात्र १ सय ३५ करोड लिएको छ । फिल्मलाई फक्स स्टार स्टुडियोजले यत्ति महंगो रकममा किनेको हो । वितरण कम्पनीेले यो पैसा उठाउन फिल्मले कम्तीमा साढे दुई सय करोडको व्यापार गर्नु पर्नेछ ।
फिल्मको स्याटालाइट अधिकार ५० करोडमा बेचिएको स्रोतले बताएको छ । फिल्मलाई स्टार टिभीले महंगो मूल्य तिरेर किनेको समाचारमा दाबी गरिएको छ । यसअघि कमै फिल्मले मात्र स्याटालाइट अधिकार वापत् चर्को मूल्य तिरेका थिए । ‘बजरंगी भाइजान’ र ‘राजश्रीको गुडविलका कारण फिल्मलाई महंगो मूल्य तिरेर पनि खरिदकर्ताले किनेका थिए । फिल्मले संगीत अधिकारका लागि मात्र १८ करोड प्राप्त गरेको छ ।
‘विवाह’ निर्देशन गरेको करिब सात वर्ष पछि सुरज बडजात्या ‘प्रेम रतन धन पायो’ लिएर आउन लागेका हुन् । सुरज र सलमानले भने लगभग १६ वर्षपछि एक साथ काम गरेका हुन् । पछिल्लो समय उनीहरुले ‘हम साथ साथ है’मा सँगै काम गरेका थिए । त्यसयता सुरजले हृतिक रोशन र अभिषेक बच्चनलाई लिएर ‘मैं प्रेमकी दिवानी हुँ’ र साहिद कपुरलाई लिएर ‘विवाह’ निर्देशन गरेका थिए ।
जसमध्ये ‘विवाह’ले सफलता पाएपनि ‘मैं प्रेमकी दिवानी हुँ’ असफल भएको थियो ।सलमानले सुरज कै निर्देशनमा बनेको ‘मैने प्यार किया’बाट स्टारडमको बाटो समातेका थिए । ‘प्रेमरतन धन पायो’मा सलमानलाई सोनम कपुर र निल नितिन मुकेशले पनि साथ दिएका छन् ।

