पछिल्लो समय फिल्ममा अभिनयको लागि कलाकारलाई अडिसनबाट छान्ने प्रचलन नेपालमा पनि बाक्लिँदै छ । यसरी कलाकार छनौट गर्दा उत्कृष्ट कलाकार छान्न सकिने भएपछि फिल्म निर्माण यूनिटहरु यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो पटक विकास आचार्यले निर्देशन गर्ने फिल्म ‘नाई नभन्नु ल ४’ले पनि अडिसनमार्फत मुख्य कलाकारहरु छनौट गरेको थियो ।
यस्तै नेपाली फिल्म ‘रेड लकेट’ले पनि फिल्मको मुख्य कलाकारहरुको लागि अडिसन आह्वान गरेको छ । चाँडै फ्लोरमा जाने गरि फिल्म निर्माणको तयारीमा जुटेको प्रोडक्शन कम्पनी ‘संगीत फिल्म्स्’ले अडिसनमार्फत कलाकार छनौट गर्न लागेको हो ।
‘केहि मुख्य कलाकारहरु बाहेक धेरैजसो कलाकारहरु हामीले अडिसनबाटै छान्नेछौँ ।’ फिल्म ‘रेड लकेट’का निर्देशक संगीत बस्यालले भने–‘यसो गर्दा हामीले कलाकारको लागि धेरै विकल्पहरु पाउनेछौँ । र, प्रतिभा भएका कलाकारहरुलाई अवसर दिन पनि पाउनेछौँ ।’
‘रेड लकेट’ निर्माण कम्पनीले भदौ १९ देखि तीन हप्तासम्म फाराम खुल्ला गरेको छ । फाराम भरेका कलाकारहरुलाई अडिसनमा सहभागी गराई उनीहरुबाट ३ जना युवती, ४ जना केटा र २ जना बालबालिकालाई छनौट गरिने निर्देशक बस्यालले बताए ।प्रेमलाई मुख्य विषय बनाएर निर्माण हुने फिल्म ४५ लाख रुपैयाँमा निर्माण हुने संगीत फिल्मस्ले जनाएको छ ।

