‘हाइवे टु धम्पुस’ रिलिजका लागि अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइराला नेपाल आएका छन् । आगामी असोज ८ देखि नेपालका हलमा प्रदर्शन हुने फिल्मको प्रवद्र्धनका लागि उनी नेपाल आइपुगेका हुन् । अभिनेता कोइरालासहित फिल्म युनिटले सोमबार ‘हाइवे टु धम्पुस’को नेपाल रिजिलबारे औपचारिक जानकारी गरायो ।
‘यो फिल्मले नेपालका विभिन्न साँस्कृतिक र भौगोलिक सौन्दर्य समेटेको छ । नेपाली फिल्म अन्तराष्ट्र्रियस्तरमा पुग्न ‘हाइवे टु धम्पुस’ को जस्ता कथामा फिल्म बनाउनु पर्छ,’ कोइरालाले भने । उनले आइन्दा छानेर मात्र फिल्म गर्ने पनि बताए । भने,‘नेपाली फिल्ममा करियर सुरु गर्दा सबैखालका फिल्महरुमा काम गरे । अबचाँहि संख्यात्मकभन्दा गुणात्मक फिल्मलाई प्राथमिकता दिन्छु । यो फिल्म मेरो करियरको महत्वपूर्ण उपलब्धि हो ।’
फिल्ममा अभिनेता राजबल्लभ कोइरालासहित बेलायती अभिनेत्री रिचेल हर्ड उड, सुयशा राना, देशभक्त खनाल र सयुश गुरुङ लगायतले अभिनय गरेका छन् । फिल्ममा कास्कीको धम्पुस सहित सोलुखुम्बुको फाप्लुका रोमाञ्चक दृष्य पनि छन् । बेलायत, अमेरिका र कुवेतमा केही दृष्य पनि यसमा राखिएको छ । फिल्मको ९० प्रतिशत दृष्य नेपालका रहेका फिल्म युनिटले बताएको छ ।
फिल्मलाई रिक म्याक फारल्याण्डले निर्देशन गरेका छन् । फिल्म यसअघि हर्टल्यान्ड फिल्म फेस्टिभल, मेड्रिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र सोहो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विभिन्न अवार्ड जित्न सफल भइसकेको छ । फिल्मको सुटिङ करिव दुई वर्षअघि सम्पन्न भएको थियो । फिल्म असोज २२ गतेदेखि अमेरिकाका विभिन्न सहरमा रिलिज हुनेछ ।

