आउँदो असोज ८बाट देशव्यापी प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरिएको छ । फिल्म हिमालयमा ज्यान गुमाउने परिवारका बालबालिकाको शिक्षामा खर्चने गरी फन्ड उठाउन च्यारिटी गरिएको भएपनि आयोजकले शोलाई च्यारिटीसँगै साउथ एसियन प्रिमियर पनि बताएको थियो । बुधबार राजधानीको जयनेपाल हलमा फिल्मको च्यारिटी गरिएको हो ।
च्यारिटीमा विभिन्न देशका राजदूत तथा विशिष्ट अतिथीहरुको उपस्थिति रहेको थियो । फिल्मकर्मीको न्यून उपस्थिति रहेको शोमा अभिनेता विजय लामा र जीवन लुईंटेलले उपस्थिति जनाएका थिए । विजय लामाले भने ‘एभरेस्ट’ भित्र अभिनय पनि गरेका छन् ।नेपाल एअरलाइन्सका पाइलट विजय लामाले फिल्म भित्र पनि पाईलटकै भूमिका निभाएका छन् । सन् १९९६मा सगरमाथामा आएको आँधीका कारण ज्यान कमाउन पुगेका दर्जन भन्दा बढी आरोहीको कथामा आधारित फिल्ममा विजयले उद्धारमा खटिने पाइलटको भूमिकामा अभिनय गरेका छन् ।
वास्तविक जीवनमा भने मदन केसीले सो भूमिका निभाएका थिए । मन्चमा सारगर्भित मन्तव्य व्यक्त गरेका विजय लामाले मदन केसीलाई विदेशले चिनेपनि देशले चिन्न नसकेको गुनासो गरेका थिए । फिल्म हेर्न मदन केसी स्वयं पनि उपस्थित थिए ।लामाले फिल्मले देशलाई विश्वसामु चिनाउन थप मद्दत पुर्याउने भन्दै फिल्मको हिस्सा हुन पाउनु गौरवको विषय भएको बताए ।

‘मैंले आदर्श नारीबाट पाइलटकै भूमिकामा अभिनय गरेका थिएँ । फिल्ममा अभिनय गरेपछि म साँच्चिकै पाइलट भएँ । फेरि एभरेस्टमा पनि पाइलटकै भूमिकामा अभिनय गरेको छु । एउटा चक्र पूरा गरेको अनभूति भईरहेको छ,’लामाले भने ।उनले ‘एभरेस्ट’ सुटिङको अनुभव सुनाउँदै नेपाली फिल्म र हलिउड फिल्ममा सबै कुरा उस्तै भएपनि ‘प्रोफेसनालिजम’मानेपाल हलिउड भन्दा कोसौं गुण पछाडि रहेको बताए । उनले हलिउडमा कामका आधारमा भेदभाव नुहने अनुभव गरेको बताए ।
कार्यक्रममा आरोहीको सहयोगीको रुपमा अभिनय गरेका पेम्बा शेर्पाले पनि सुटिङको अनुभव सुनाएका थिए । ‘इन्टु दि थिन एअर’ शीर्षकको पुस्तकमा आधारित रहेर बनेको फिल्मको सुटिङ नेपालसँगै इटली र लण्डनमा पनि गरिएको थियो । फिल्मले न्युजिल्याण्डका रोब हलको नेतृत्वमा गएको आरोहण टोलीले आरोहणका क्रममा खेप्नु परेको संघर्षको कथालाई पेश गर्छ ।
फिल्म हेरेपछि अभिनेता जीवन लुईंटेलले फिल्म ‘टाइटानिक’को हाराहारीको रहेको बताए ।‘दुवैमा ट्रेजेडीको कथा छ । प्रेम, लगाव, साहसलाई सुन्दर दृश्य मार्फत् बुन्ने प्रयास सार्थक छ । केही ठाउँमा आँशु रोक्न सकिन्न,’ जीवनले भने ।बाल्टासार कोर्मुकारको निर्देशन रहेको फिल्म केही हप्ता अघि मात्र भेनिस फिल्म फेस्टिभलको ओपनिंग फिल्मको रुपमा देखाईएको थियो ।

