गायक युवराज चौलागाइलाई यो हप्ता राम्रै चिठ्ठा परिरहेको छ । शनिबार एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट पाश्र्व गायकको अवार्ड पाएका युवराजले सोमबार आयोजना भएको म्यूजिक खबर म्यूजिक अवार्डमा पनि सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड जिते । फिल्म ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनुँ’ बोलको गीतबाट उनले अवार्ड पाएका थिए । उनले कार्यक्रममा यो गीत गाएका पनि थिए ।

अवार्ड समारोहमा उत्कृष्ट पाश्र्व गायिकको अवार्ड गायिका माण्डवी त्रिपाठीले फिल्म लज्जाको मात लाग्यो बोलको गीतबाट जितिन् । उत्कृष्ट गीतकारको विधामा भने डाक्टर कृष्णहरी बरालले फिल्म ‘कोहिनूुर’को ‘के म तिम्रो होइन र’ गीतबाट जितेका छन् ।उत्कृष्ट फिल्म संगीतकारको विधामा अर्जुन पोख्रेलले अवार्ड जिते । फिल्म ‘स्टूपिड मन’को ‘तिम्रो आँखामा’ बोलको गीतबाट उनले अवार्ड जिते ।३१ विधामा प्रदान गरिएको अवार्डमा ४ वटा विधा फिल्म सम्बन्धी थिए ।

