नायिका रेखा थापाले सामाजिक संस्था ‘रक्षा नेपाल’ को संरक्षणमा रहेका महिला तथा बालिका गरी ३५ जनालाई तिजको कोसेली दिएकी छन् । रक्षा नेपालले सोमबार राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरेको ‘रक्षा नेपालको दर एंव चेतनामुलक’ कार्यक्रममा रेखाले उक्त संख्यामा रहेका महिला तथा बालिकालाई कुर्ता सुरुवाल उपहार दिएकी हुन् ।
कार्यक्रमकी मुख्य आकर्षक रेखाले सामाजिक संस्था रक्षा नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको बताइन् । संस्था प्रमुख एंव सामाजिक अभियन्ता मेनुका थापाले गर्दै आइरहेको कार्यको प्रशंसा गर्दै रेखाले भनिन्, ‘मेनुका थापा जस्ता नारीहरु दश जना मात्रै भएपनि धेरै नारीहरु उत्पीडनमा पर्नु पर्दैन्थ्यो जस्तो मलाई लाग्छ ।’
स्वंयम पनि सामाजिक अभियन्ताको रुपमा रहेकी रेखाले रक्षा नेपालको संरक्षणमा रहेका महिला तथा बालिकालाई ‘मेनुका थापा’ बन्ने उत्प्रेरणा दिंदा अध्यक्ष मेनुका थापाले भने आफ्नो संस्थाको संरक्षणमा रहेका सबैलाई थापा भनेर परिचय गराउँदै उनीहरु भविष्यका रेखा थापा रहेको बताइन् ।
आफ्नो संस्थाको स्थापना कालको पहिलो भव्य तीज कार्यक्रम रहेको खुलाउँदै मेनुकाले भनिन्, ‘मेरा छोरीहरु सबै जना म रेखा थापा बनुन् भन्ने मेरो चाहना छ ।’ रक्षा नेपालको संरक्षणमा महिला र बालिका गरी ३५ जना छन्, जो विभिन्न शोषण र विभेदमा परेका हुन् ।

