फिल्म ‘लभसभ’मा संलग्न कलाकार, निर्माता, निर्देशक सबैलाई ‘फ्लप’को लेबल लागेको थियो । फरक फरक फिल्ममा काम गरेका उनीहरु सबैले लामो समयदेखि सफलताको स्वाद चाख्न पाएका थिएनन् तर कम बजेटमा बनेको ‘लबसब’को सफलताले धेरैको ‘फ्लप’ वाला लेबल हटाईदिएको छ ।
फिल्मका निर्देशक देवकुमार श्रेष्ठले यसअघि तीनवटा फिल्म निर्देशन गरिसकेका छन् । तर ‘हाउडे’ बाहेक उनले निर्देशन गरेका ‘एकदिन एक रात’, ‘गोधुली’ जस्ता फिल्मले पानी पनि भन्न पाएका थिएनन् । हिटको खडेरी मेटाउन चाहेका उनले अन्ततः ‘लबसब’ मार्फत यो चाहना पूरा गरेका छन् ।
फिल्मका दुई निर्माताले पनि लामै समय भएको थियो हिटको स्वाद नचाखेको । निर्माता मध्येका एक नरेन्द्र महर्जनले ‘छड्के’मा असफलताको नमिठो स्वाद भेटेका थिए । त्यसपछि रिलिज भएको ‘मिसन पैसा रिलोडेड’ले पैसा रिलोड गर्नु त कता हो कता उल्टै खाली गराएको थियो ।
अर्का निर्माता सुशील पोखरेलले त यसअघिको फिल्म ‘बडीगार्ड’बाट यत्ति घाटा खाएका थिएकी फिल्म नै नबनाउने घोषणा गरेका थिए । तर चमक दमकको दुनियाँले सजिलै कहाँ छाड्छ । यहाँ आउन जत्ति सजिलो छ फर्केर जान त्यत्ति नै कठिन । सुशील पनि फर्किए ।
कलाकारको हकमा पनि त्यस्तै छ । संयम पुरी र सलोन दुवैका पहिला फिल्म हिट भएका थिए । संयमको ‘शायद’ र ‘सलोन’का होस्टल सफल मानिएका थिए । तर, त्यसयता दुवैका फिल्मले ‘हिट’ शब्द सुन्न नपाएको धेरै भईसकेको थियो । ‘लबसब’ले दुवैको त्यो तिर्सना मेटाईदिएको छ ।
‘लबसब’को सफलताले हौसिएर निर्माता सुशील पोखरेलले फिल्म चलिरहँदा नै सिक्वेल बनाउने मात्र होइन चलाउने नै घोषणा गरिसकेका छन् । सुशीलको घोषणा अनुसार ‘लबसब २’ अब २०७३ सालको दशैंमा चल्नेछ ।

