अभिनेता जीवन लुईंटलको आज जन्मदिन परेको छ । जीवन ३४ वर्षमा प्रवेश गरेका छन् । विराटनगरको हरैंचामा जन्मिएका जीवनले स्कुले शिक्षा पनि त्यही पूरा गरेका थिए । सन् २००२ मा मिस्टर नेपाल जितेर मोडलिङमा प्रवेश गरेका जीवनले सन् २००७ मा ‘तिर्खा’ नामको फिल्मबाट अभिनय यात्रा थालेका थिए ।
‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’मा सानो भूमिका निर्वाह गरेका जीवनले 'नसिब आफ्नो ', ‘कसम हजुरको’ र ‘दीपशिखा’मा मुख्य भूमिकामा अभिनय गरेका थिए । तर, सन् २०१० मा रिलिज भएको ‘नाईं नभन्नू ल’पछि मात्र जीवनको अभिनय गाडीले रफ्तार समातेको थियो । त्यसयता उनले २५ भन्दा ज्यादा नेपाली फिल्ममा अभिनय गरेका छन् र आर्यनसँगै सर्वाधिक व्यस्त अभिनेतामा दरिन्छन् ।
‘अन्दाज’, ‘रिदम’, ‘नोटबुक’, ‘स्टुपिड मन’, 'नाईं नभन्नु ल २' जीवन अभिनित सफल फिल्म मानिन्छन् । जीवनले जन्मदिन सामान्य तरिकाले मनाउँदै आएका छन् । उनले आजपनि जन्मदिनमा विशेष केही नगरेको जानकारी गराए ।
‘पूरानो सोचको मान्छे परियो खासै जन्मदिन मनाउने बानी छैन । अरुदिन जस्तै नियमित भेटघाटमा समय बित्यो । बेलुकी पख टिभी फिल्मीमा अन्तर्वाता थियो । त्यहाँ फिल्म ‘धून’को प्रचार प्रसार गरें । यस्तै हो', जीवनले दैनिकी सुनाए ।
अभिनयसँगै जीवन कविका रुपमा पनि चिनिन्छन् । उनले लेखेको मध्ये ‘नायक’ शीर्षकको कविता चर्चित मानिन्छ र औपचारिक अनौपचारिक कार्यक्रममा जीवनले कविता पनि सुनाईरहन्छन् । विवाहिज जीवनका एक छोरा र एक छोरी छन् ।

