फिल्म ‘लभ सब’लाई बन्दको असरले छुन्छ कि भन्ने पिर छ निर्माता नरेन्द्र महर्जनलाई । उनले फिल्म राम्रो बनेपनि प्रदर्शनको दिन नजिक आउँदा देशभर भैरहेको बन्दले असर पुर्याउछ कि भन्ने पिर पर्न थालेको बताए ।
अर्का निर्माता सुशिल पोख्रेलले फिल्म लभ सबलाई प्रेमको बिषयमा निर्माण गरिएको जानकारी दिए । आज राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक देवकुमार श्रेष्ठले सबैको साथले फिल्म राम्रो बनेको र प्रचार पनि सकारात्मक तबरले अगाडि बढेको बताएका थिए । भदौ २५ गतेबाट प्रदर्शनमा आउने यो फिल्मका मुख्य कलाकार सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी पत्रकार सम्मेलनमा उपस्थित थिए ।
उनीहरुले फिल्म ‘लभ सब’ आफूहरुका लागि महत्वकांक्षी भएको बताए । कलाकार शिशिर भण्डारीले मधेसको पात्र निर्वाहा गर्दा केही गाह्रो भएपनि रमाइलो भएको बताए ।फिल्म ‘लभ सब’को बिषयवस्तुले युवापुस्तालाई नै केन्द्रित गरेकाले प्लस टू जेनेरेशन यसको मुख्य दर्शक मानिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले फिल्मलाई शुभकामना दिएका थिए ।

