महिलाको सकारात्मक भूमिका प्रस्तुत गर्ने फिल्म ‘भाले फाइट’ले प्रचार प्रसार सुरु गरेको छ । असोज ८ गते प्रदर्शन मिति तोकिएको फिल्मले आइतबार पत्रकार सम्मेलन गर्दै प्रचार थालेको हो । मुनाल फिल्मस्को ब्यानरमा तयार भएको फिल्ममा रीमा विश्वकर्मा, बाबु बोगटी, सन्दिप क्षेत्री, मानबहादुर राई, जेनी शेर्पाको मुख्य भूमिका छ ।

फिल्ममा अभिनेत्री रीमा विश्वकर्मा मुख्य केन्द्रमा छिन् । महिलाले पुरुषको सफलतामा कसरी सहयोग गर्न सक्छन् भन्ने कथा नै फिल्मको मुख्य बिषय रहेको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा बोल्दै कलाकारले फिल्म रीमाको चरित्र वरिपरि घुम्ने बताए । फिल्ममा अभिनेत्री विश्वकर्माले उत्कृष्ट काम गरेको भन्दै दुई कलाकार बाबु र सन्दिपले तारिफ गरेका थिए ।
अशोक राई यो फिल्ममा प्रस्तुतकर्ता, गीतकार, संगीतकार, कथा तथा पटकथाकार र निर्देशकको रुपमा देखिएका छन् ।फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध, कमल राइको नृत्य, गणेश श्रेष्ठको छायांकन छ ।
फिल्ममा आफूले राम्रो भूमिका पाएको भन्दै कलाकार बाबु बोगटीले फरक कथामा काम गर्दा रमाइलो भएको सुनाए । यस्तै, अभिनेत्री रिमा विश्वकर्माले फिल्म भित्र आफूले महिलाले पुरुषको सफलतामा कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने भूमिकामा काम गरेको बताइन् । सन्दिप क्षेत्रीले यो फिल्ममा दर्शकलाई हसाँउनेछन् ।

