तेस्रो सिरिजसम्म सुपरहिट बनेको 'नाई नभन्नु ल'को चौथो सिरिज निर्माणको औपचारिक घोषणा गरिएको छ । सांगीतिक प्रेमकथामा आधारित 'नाईं नभन्नु ल ४'को कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा मुहुर्त गरियो ।


त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्मलाई बिकास आचार्यले निर्देशन गर्ने छन् । हरेक सिरिजमा नयाँँ अनुहारलाई मौका दिने गरेका निर्देशक आचार्यले यसपटक पल शाह, बर्षा राउत र आँचल शर्मालाई मुख्य भुमिकामा भित्र्याएका छन् ।
यसअघि आचार्यले 'नाईं नभन्नु ल'मा अभिनेत्रीको रूपमा ऋचा सिंह ठकुरी, दोस्रो सिरिजमा अभिनेत्रीमा बर्षा राउत, बाल अभिनेतामा अनुभव रेग्मी र गायनमा प्रेम परियार तथा तेस्रो सिरिजमा निर्देशकको रूपमा मुस्कान ढकाललाई डेब्यू गराएका थिए ।
'नाईं लभन्नु ल'का तीन वटै सिरिज साँगीतिक रूपमा बलियो थिए । यसपटक पनि संगीतलाई बिशेष प्राथमिकतामा राखेको निर्देशक आचार्यले बताए । दोस्रो र तेस्रो सिरिजमा संगीतकारको जिम्मा पाएका बसन्त सापकोटाले चौथोमा पनि आफ्नो साँगीतिक जादु पस्कने भएका छन् ।
एउटै शीर्षक भिन्न स्वादको प्रेमकथा पस्कदै आएको दाबी गर्ने आचार्यले भने, 'मेरा सबै फिल्मले प्रेमको परिभाषालाई विभिन्न कोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ । यसपटक पनि प्रेमकथालाई भिन्न रूपले प्रस्तुत गर्दैछु ।’ सामिप्यराज तिमिल्सिना र निर्देशक आचार्यले मिलेर फिल्मको पटकथा तथा संवाद तयार परेका छन् ।
‘मर्ने कसैलाई रहर हुँदैन’ र 'यी आँखामा तिमी छौ' बोलको गीत गाएर गाएर वाहवाही बटुलेका गायक प्रेम परियारको स्वर चैथो सिरिजमा पनि सुन्न पाईने छ । तेस्रो सिरिजमा भने स्वरका कारण प्रेमले गीत गाएका थिएनन् । छायाँकनमा पुरुषोत्तम प्रधान नै छन् । उनी दोस्रो संस्करणदेखि लगातार रहँदै आएका छन् ।
सोमबारदेखि सुटिङ शुरू हुने भनिएको यो फिल्ममा पल, बर्षा र आँचलसहित अनुभव रेग्मी, सरोज खनाल, प्रियंका कार्की, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)लगायतले अभिनय गर्नेछन् । चितवन र काठमाडौंमा सुटिङ हुने यो फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्नेछन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । यो फिल्म आउँदो चैत्र २६ गते रिलिज हुने निर्देशक आचार्यले बताए । 'नाईं नभन्नु ल'को दोस्रो र तेस्रो सिरिज पनि चैत्रको अन्तिम साता नै रिलिज भएका थिए ।
निर्देशक आचार्यले आफ्नै नाममा कम्पनी दर्ता गरेर 'बिकासराज आचार्य फिल्म्स प्राली' मार्फत फिल्म निर्माण गर्न लागेका हुन् । पहिलो रिलिजलाई हिमालयन फिल्मस प्रालीले निर्माण गरेको थियो भने दोस्रो र तेस्रोलाई वान टाईम सिनेमा प्रालीले निर्माण गरेको थियो ।

