अभिनेता भूवन केसीको रोकिएको फिल्म ड्रिम्सको छायांकन फेरि सुरु गर्ने तयारी गरिएको छ । यो फिल्मको बाकी रहेको दृश्यको छायांकन काठमाण्डौमा भदौ २५ गतेबाट सुरु गरिनेछ ।
भदौ महिनालाई निर्माताहरुले छायांकनको महिना बनाउन लागेका छन् ।
यो महिना प्रदर्शनमा आएका नेपाली फिल्मले पनि राम्रो व्यापार गरिरहेका छन् । फिल्म रामप्यारीको छायांकन भदौ २१ बाट सरेर भदौ २५ मा पुगेको छ । यो फिल्मलाई अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेकी हुन् ।भदौ महिनामा फिल्म नाई नभन्नु ल ४ को पनि छायांकन सुरु गरिनेछ । भदौ २१ गतेबाट फ्लोरमा जाने तयारी यसका निर्देशक विकास आचार्यले गरेका छन् । ठूला ब्यानरका फिल्म छायांकन हुने क्रम भदौमा प्रशस्त देखिएको छ ।
आकाश अधिकारीले निर्देशन गर्न लागेको फिल्म के म तिम्रो होइन र पनि भदौ २१ गतेबाट नै छायांकनमा जानेछ । आर्यन अधिकारी र मरिष्का पोख्रेललाई लिएर आकाशले फिल्म निर्देशन गर्न लागेका हुन् ।निर्माता छविराज ओझाको बहु प्रतिक्षित फिल्म किस्मत २को छायांकन पनि भदौ २१ बाट नै सुरु गर्ने तयारी गरिएको छ ।
शिल्पा पोख्रेल भन्दा अन्य कलाकार पक्का नभएको फिल्ममा ऋषि लामिछाने निर्देशक छन् ।भदौ महिनामा ठूला ब्यानरका आधा दर्जन फिल्म छायांकनमा जान लागेकाले पनि यो महिना यी फिल्मको चर्चा खुबै हुने देखिन्छ ।

