हलिउड र बलिउडमा जस्तै सिक्वेल फिल्म बनाउने लहर नेपाली फिल्म क्षेत्रमा पनि देखिंदै आएको छ । नेपाली भाषामा थुप्रै सिक्वेल फिल्म बनिसकेका छन् । सिक्वेल फिल्म बन्ने दौडमा गुरूङ फिल्म पनि देखिएको छ ।

२० वर्ष अगाडि बनेको 'पाते' फिल्मको सिक्वेल बनेको छ । प्रितम गुरूङले निर्देशन गरेको 'पाते २' यतिबेला प्रदर्शनको लागि तयार छ । भदौरे युवा क्लबले पोखरामा शुक्रबार यो फिल्मको स्पेशल भिआईपी शो गर्दै छ ।
करिब चार दर्जन फिल्म निर्देशन गरिसकेका प्रितमले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा 'पाते २'को बारेमा सुनाए । उनले भने– ‘यो एउटा उत्कृष्ट र ऐतिहासिक फिल्म बनेको छ भन्ने मेरो विश्वास हो । फिल्म हेरेर दर्शक म जत्तिकै खुशि हुनुहुनेछ भन्ने मलाई विश्वास छ ।’
माओत्से गुरुङ फिल्मका मुख्य पात्र हुन् । माओत्से र अभिनेत्री अनु गुरुङबीच फिल्मको कथा बुनिएको छ । बाबुछोरीको सम्बन्धलाई यो फिल्मले देखाउन खोजेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
‘छोरीले पनि छोराले जसरी नै केहि गर्न सक्छन् भन्ने सन्देश फिल्मले दिन्छ । कलाकारको रुपमा यो फिल्ममा काम गर्दा मलाई निकै सन्तुष्टि मिलेको छ । र, मैले राम्रो काम गर्ने प्रयास पनि गरेको छु,' माओत्सेले भने ।
१५ लाख लगानी भएको फिल्मलाई महेश गुरुङ प्रितम र शेरजंग गुरुङ निर्माण गरेका हुन । फिल्ममा विष्णु गुरुङ, अनुता गुरुङ, अनिता गुरुङ, तारा बहादुर गुरुङ, डिवी गुरुङ, रेशम गुरुङ, लगायतले अभिनय गरेका छन । कास्कीको भदौरे गाँउ र काठमाडौँका विभिन्न स्थानमा फिल्म छायाँकन भएको हो ।

