आदिवासी जनजातिका मातृभाषामा निर्मित फिल्महरूको सही अभिलेख नहुँदा राज्यको आँखामा ती फिल्म पर्न नसकिरहेको यथार्थलाई मनन गरी चलचित्र विकास वोर्डले अभिलेख संकलन कार्य शुरु गर्न लागेको अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

बुधवार काठमाडौंमा २० औं तामाङ चलचित्र दिवसको अवसरमा बोल्दै अध्यक्ष राईले मातृभाषी फिल्मकर्मीहरूलाई प्रोत्सहन गर्ने नीति बनाउने आश्वासन पनि दिए । त्यसका लागि दर्ता प्रक्रिया,विमा र सेन्सर शुल्कमा समेत पुनःविचार गरिने उनले बताए । मातृभाषी फिल्महरूको सेन्सर गर्दा सम्बन्धित भाषाका विज्ञको अनिवार्य व्यवस्था गरिएको जानकारी दिंदै अध्यक्ष राईले हाल लाग्दै आएको शुल्कमा सहुलियत कसरी दिने भन्नेबारे छलफल भैरहेको समेत बताए ।
तामाङ चलचित्र संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष जेनिश दोङले राज्यको विभेदकारी नीतिले पनि मातृभाषी फिल्मकर्मीहरूको उत्साहलाई रोक्न नसकेको बताए । गत आर्थिक वर्षमा मात्र २१ वटा तामाङ फिल्म निर्माण भएको जानकारी दिंदै अध्यक्ष दोङले आदिवासी जनजातिका मौलिक संस्कृति,पहिचान र मुद्दामा आधारित भएर निर्माण भएका फिल्महरू वास्तविक नेपाली फिल्म भएको दाबी गरे । तर वास्तविक नेपाली फिल्महरू नै राज्यको आँखामा पर्न नसक्नु विभेदकारी नीतिको उपज भएको बताए ।
कार्यक्रममा शुरुवाती समयका तामाङ फिल्मका पाँच निर्देशकहरुलाई विशेष सम्मानबाट सम्मानित गरियो । सम्मानित हुनेमा पहिलो तामाङ फिल्मका निर्देशक जयनन्द लामा सहित निर्देशकहरु दीपेन्द्र दोङ तामाङ, सञ्जय लामा बल, विकास लामा र सुजन लामा रहेका छन् । यस्तै तामाङ फिल्मको दुई दशक लामो इतिहासको अभिलेख संकलनमा योगदान पुर्याए वापत तामाङ फिल्म अभिलेख पुस्तकका लेखक जयनकुमार मोक्तानलाई कदर पत्र प्रदान गरिएको थियो ।
तामाङ भाषाको पहिलो फिल्म 'सेमरी छोरङान'को विक्रम सम्वत २०५३ साल भाद्र १६ गते पहिलो प्रदर्शनी भएको दिनको सन्दर्भ पारेर तामाङ चलचित्र संघले तामाङ चलचित्र दिवस मनाउँदै आएको छ ।

