
अस्कर अवार्डको ‘उत्कृष्ट विदेशी भाषाका फिल्म’ विधाको प्रतिस्पर्धाका लागि चार नेपाली फिल्मले आवेदन दिएका छन् । अस्कर अवार्ड विदेशी भाषा फिल्म छनोट समिति नेपालले नयाँ संस्करणका लागि चार फिल्म प्रक्रियामा आएको जानकारी गराएका छन् । छनोट समिति सचिव चिरञ्जीवी गुरागाईंले प्रतिस्पर्धाका लागि ‘सुनपानी’, ‘निशानी’, ‘भीमदत्त’ र ‘टलकजंग भर्सेज टुल्के’ले आवेदन दिएको जानकारी गराए ।
समितिले केही दिनअघि एक हप्ताको समयसीमा दिँदै इच्छुक फिल्मले छनोट समितिमा फिल्म बुझाउन आग्रह गरेको थियो । भदौ १५ गते तोकिएको म्यादभित्र चार नेपाली फिल्मले अस्करको विदेशी भाषा विधामा लड्ने ईच्छा देखाएका हुन् ।२०७१ को असोज १५ देखि २०७२ को भदौ १४ सम्म रिलिज भएका फिल्मले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने प्रावधान थियो ।
निर्देशक विमल पौडेलको अध्यक्षतामा गठित समितिले आएका फिल्महरु हेरेर कुनै एकलाई प्रतिस्पर्धाका लागि सिफारिस गर्नेछ ।अस्कर अवार्ड आउँदो फागुन १६ मा लसएन्जल्समा सम्पन्न हुनेछ । गत साल सय वर्ष पुरानो सती प्रथामा आधारित रही बनेको ‘झोला’ प्रतिस्पर्धाका लागि सिफासिमा परेको थियो ।

