अभिनेता निखिलले फिल्म ‘भैरव’लाई मल्टिप्लेक्स हलबाट हटाइएको भन्दै आफ्ना फिल्मका वितरक गोपाल कायस्थ विरुद्ध मुद्दा हालेका छन् । फिल्मले राम्रो व्यापार गर्दा गर्दै पनि क्युएफएक्स सेन्ट्रलबाट फिल्म हटाइएको भन्दै उनले निर्माता संघमा वितरक विरुद्ध मुद्दा हालेका हुन् ।
निखिलले मल्टिप्लेक्सले नेपाली फिल्मलाई हेपाहा प्रवृत्ति राख्ने गरेको पनि बताए । उनले फिल्मले ६० हजार भन्दा माथिको कलेक्सन गर्दा गर्दै पूर्वाग्रह पूर्वक क्युएफएक्सले हटाईदिएको दाबी गरे ।अभिनेता निखिल उप्रेती निर्देशित तथा अभिनित फिल्म भैरवले अहिले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । थोरै पर्दामा लागेपनि व्यापार राम्रो गर्नुलाई निखिलको स्टारडमसँग तुलना गरिएको छ ।
भैरव हिट भएपछि निखिलले यसको सिरिज बनिरहने बताएका छन् । भैरवले देशका विभिन्न बिषयलाई उठान गर्दै सिरिज बनाउने निखिलले बताए । उनले यसपटक मधेसको कथालाई देखाइएको भन्दै देशको परिस्थिती अनुसारको बिषय उठान गरेर यसको सिरिज बनाउने बताए । उनले एउटा सिरिज बन्नका लागि कम्तीमा पनि २ बर्ष लाग्ने खुलाए ।
निखिलले आफूले अरु ब्यानरका फिल्ममा पनि काम गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पेशा नै यही भएकाले जीवन चलाउन पनि यसो गर्नुपर्ने बताए । निखिलका अनुसार उनले आफ्नै निर्देशनमा अरु नाममा पनि फिल्म बनाउने बताए ।

