मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले थप्यो छात्रवृत्ति संख्या

फिल्मीखबर, काठमाडौं, 2015/08/30

विगतमा सात जनालाई प्रदान गरिँदै आएको छात्रवृत्ति नेपाल चलचित्र विकास बोर्डले बढाउँदै १० जनामा पुर्याएको छ । चलचित्र बिकास बोर्डले विगत लामो समयदेखि प्रदान गर्दै आएको छात्रवृत्ति कोटामा संख्या थप गरेको हो । काठमाडौंस्थित ओस्कार इन्टरनेसनल कलेजमा फिल्म विषय लिई ब्याचलर इन फिल्म स्टडिज अध्ययन गर्न चाहनेले यो छात्रवृत्ति पाउनेछन् । कलेजमा तीनवर्षे स्नातक अध्ययन गराइन्छ ।


केही दिनअघि बोर्ड र कलेजबीच भएको यो निर्णय यही वर्षको शैक्षिक सत्रदेखि सुरु हुँदैछ । जुनसुकै विषयमा पनि प्लस टु पास गरेकाले फिल्म लिएर स्नातक पढ्न पाइन्छ । ‘चलचित्र विकास बोर्डले छात्रवृत्तिको संख्या थपिदिएकोमा खुसी छौं,’ कलेजका प्रिन्सिपल विनोद पौडेलले भने, ‘फिल्म पढ्न चाहने गरिब विद्यार्थीहरुका लागि यो ठूलो राहत हुनेछ ।’

 

फिल्म क्षेत्रलाई प्रतिष्ठित बनाउन र फिल्मको स्तर वृद्धि गर्न पढेलेखेका जनशक्तिको खाँचो रहेकोले फिल्म अध्ययन संस्कृतिलाई प्रोत्साहित गर्न छात्रवृत्तिको संख्या थपेको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बताए । ‘फिल्म बनाउनुअघि सबैले सकेसम्म पढेरै आऊन् भन्ने म चाहन्छु,’ अध्यक्ष राईले भने, ‘फिल्म पनि पढ्नुपर्ने विषय हो भन्ने सबैले बुझ्न जरुरी छ ।’

 


विकास बोर्डले सबै १० विद्यार्थीलाई जनही वार्षिक ३५ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गर्नेछ । तीन वर्षको अवधिमा प्रत्येक विद्यार्थीले एक लाख पाँच हजार रुपैयाँ पाउनेछन् । १० वटा छात्रवृत्तिलाई खुला, महिला, जनजाति, मधेसी र दलित गरी कोटामा विभाजन गरि बाँडिनेछ ।