उदीयमान भारतीय गायक अंकित तिवारीले नेपालमा कन्सर्ट गर्ने भएका छन् । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट गर्न लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गरायो । होटल सांग्रिलामा भएको पत्रकार सम्मेलनमा बोल्दै कन्सर्ट आयोजक नासिर हुसेनले अंकितलाई गत मे महिनामै ल्याउने तयारी रहेको भएपनि भूकम्पका कारण पछि सरेका बताए ।
‘हामीले गत मे ३०मा नै अंकितलाई नेपाल ल्याउने गरी तयारी थालेका थियौं तर बिचैमा भूकम्प आएपछि हामीले अप्रिलको अन्त्यमा आएर कन्सर्ट रद्द गर्नुपर्यो, नासिर हुसेनले भने, ‘तर यही कारणले कन्सर्टलाई थप सफल बनाउने कारण पनि थपिएको छ । कन्सर्टको आयोजनाबाट आएको मुनाफाको केही प्रतिशत हामी भूकम्प पीडितका लागि पनि खर्चनेछौं ।’
‘आशिकी २’को ‘सुन रहा है न’ गीतबाट पाश्र्व गायनमा स्थापित अंकित तिवारीले ‘एक भिलेन’को गीतबाट थप उचाई पाएका थिए । उनले पाकिस्तानी फिल्म ‘बिन रोए’मा गाएको गीत ‘ओ यारा’ले अंकितलाई पाश्र्व गायनमा उम्दा गायकको रुपमा स्थापित गरेको थियो । त्यसयता उनले थुप्रै बलिउड फिल्ममा आवाज दिईसकेका छन् ।
कन्सर्टको आयोजना प्लानेट नेपाल इन्टरटेनमेन्टले गर्न लागेको हो । सन् २००७मा स्थापना भएको प्लानेट नेपाल इन्टरटेनमेन्टले यसअघि ‘मिका सिंह लाइभ इन कन्सर्ट’, ‘आतिफ असलम इन नेपाल’को सह आयोजकको रुपमा काम गरेको थियो भने एमटीभीको शो स्टन्ट मानियाका तीन संस्करण, पहिलो माउन्टेन स्पार्टस् फेस्टिभल, मोटो म्याडनेस लगायतका थुप्रै इभेन्टको आयोजना गरिसकेको छ ।
पत्रकार भेटघाटमा अंकित असोज १४ गते नै नेपाल आउने र नेपाली मिडियासँग अन्तक्रिया गर्ने आयोजकले जनाएको छ । १७ गते देश फर्कने उनलाई जानुअघि सिटी टुर र माउन्टेल फ्लाइट गराउने योजना रहेको आयोजकले जानकारी गराएको छ । दिउँसो दुई बजेबाट सुरु हुने कन्सर्टमा सहभागि हुन चाहाने दर्शकले ५ सय, १५ सय र ३ हजारको टिकट लिनु पर्छे । कार्यक्रममा अंकितसँगै गाउनलाई नेपाली गायक सविन राई र कववेव ब्यान्डसँग कुरा भईरहेको पनि आयोजकले जनाएको छ ।