फिल्म ‘रेन्जर’को केही समय अगाडि काठमाण्डौमा तामझामका साथ मुहुर्त गरियो । तर, यो फिल्म अब बन्दैन भन्दा हुन्छ । ठूलै लगानी गर्ने र स्तरिय फिल्म बनाउने भन्दै यसका निर्माता र निर्देशकले कुरा गरे । तर, फिल्म बनेन । यसकी अभिनेत्री सौजन्य सुब्बा बिहे गरेर अमेरिका पुगिसकेकी छिन् । फिल्मले नेपाली सेनाको कथा उठाउने बताइएको थियो ।
फिल्म ‘न्यू इयर’को पनि काठमाण्डौको एभरेष्ट होटलमा खुबै चर्चा गरिएरै मुहुर्त गरियो । वेनिशा हमाल र अनुप विक्रम शाहीलाई लिएर फिल्म अष्ट्रेलियामा छायांकन गर्ने यसका निर्माता गृहेन्द्र घिमिरेले घोषणा गरे । फिल्मलाई प्रविण श्रेष्ठले निर्देशन गर्ने कुरा थियो । तर, यसपछि यो फिल्मको छायांकन के हुँदैछ कसैलाई अत्तो छैन । फिल्म अब बन्छ या बन्दैन थाहा छैन । अष्ट्रेलियाको मौसम चिसो भएकाले नोभेम्बरमा सुटिङ गर्ने निर्माताको भनाई छ ।
फिल्म ‘च्यालेञ्ज’ रिलिज हुने नहुने टुंगो छैन । रेश महरठ्ठाले निर्माण गरेको यो फिल्मलाई श्याम भट्टराइले निर्देशन गरेका थिए । फिल्म बनेको ६ बर्ष भन्दा बढी भैसक्यो । तर, फिल्म चलेन । रेशले फिल्म चल्छ भनेपनि ‘च्यालेञ्ज’ले हलसम्म आउने च्यालेञ्ज पुरा गर्न सकेन । निर्माता रेशले करोडौं भन्दा माथिको रकम सके । विचमा यसका अर्का निर्देशक सिमोस सुनवारसँग लफडा पनि भयो रेशको । तर, पनि फिल्म हलसम्म आउछ भनेर अब सबैले माया मारिसके ।
नेपाली फिल्ममा यी त उदाहरण मात्र हुन् । यस्ता केही फिल्म छन्, जो बन्छ या बन्दैन भनेर मुहुर्तको दिनमा नै केहीले घोषणा गरिदिन्छन् । फिल्म घोषणा गरेर केही दिन मिडियामा चर्चा कमाउने र यसपछि हराउनेहरुको उदाहरण धेरै छ । केही नेपाली निर्देशकले हिन्दी फिल्म नै बनाउने भनेर हल्ला मात्र गरेनन् मुहुर्त पनि गरे । तर, ती फिल्म पनि बनेनन् । जसमा शोभित बस्नेत र कमलकृष्ण पर्छन् । कमलकृष्णामथि त अहिले कलाकार बनाइदिन्छु भन्दै ठगेको आरोप पनि छ ।
यसैले फिल्म बनाउछु भनेर हल्ला गर्नु भन्दा बनाएपछि हल्ला गर्नु राम्रो हो भनिन्छ ।