मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गाईजात्रामा हँसाउन आउँदैछन् हाँस्यकलाकार

फिल्मीखबर, काठमाडौं, 2015/08/27

हाँस्य कलाकारले हरेक वर्ष गर्दै आएको गाईजात्रालाई यो वर्ष पनि निरन्तरता दिने भएका छन् । हाँस्य कलाकारले आउँदो शनिबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा पस्कन लागेका हुन् । हाँस्य कलाकारकै अर्को समूहले भने पोखराको पार्टी प्यालेसनमा तीन दिन हाँस्य कलाकार प्रस्तुत गर्नेछन् ।

 

प्रज्ञाभवनमा भोलि शनिबारदेखि सञ्चालन हुने ‘तीते–जीरे मेरीबास्सै गाईजात्रा महोत्सव’मा नेपाल टेलिभिजनका तीन लोकप्रिय हास्यश्रृंखला ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ तथा ‘मेरी बास्सै’ का कलाकारहरू प्रस्तुत हुँदैछन् भने आज शुक्रबारदेखि नै पोखरामा सञ्चालन हुने ‘हाक्का हाक्की हर्के हल्दार गाईजात्रा महोत्सव २०७२’ महोत्सवमा नेपाल टेलिभिजनको हास्यश्रृंखला ‘हाक्का हाक्की’ तथा कान्तिपुर टेलिभिजनको हास्यश्रृंखला ‘हर्के हल्दार’ का कलाकारहरूले दर्शक हँसाउने जिम्मा लिएका छन् ।

 

प्रज्ञा भवनको गाईजात्रा महोत्सव भदौ १२ गतेदेखि प्रारम्भ भएर २६ गतेसम्म सञ्चालन हुनेछ । यो महोत्सवमा विभिन्न चारवटा प्रहसन मञ्चन गरिँदैछ । तीतो सत्य समूहले प्रस्तुत गर्ने प्रहसन वैशाख १२ को भूकम्पमा आधारित हुने निर्देशक दीपकराज गिरीले बताएका छन् । उक्त प्रहसनमा दीपकराज गिरी, दीपाश्री निरौला, आरपी भट्टराई, रवि डंगोल तथा पूर्ण थापाले अभिनय गर्दैछन् । ‘जीरे खुर्सानी’ समूहले यो महोत्सवमा दुईवटा प्रहसन प्रस्तुत गर्दैछ । पहिलो प्रहसनमा शिवहरि पौडेल, किरण केसी, मनोज आचार्य, सविता गुरुङले अभिनय गर्नेछन् भने दोस्रो प्रहसनमा राजाराम पौडेल, देवीराम पराजुली, नीरज नेपाल, रमेश अधिकारी, शिवहरि बैरागी तथा हिमा कोइरालाले अभिनय गर्दैछन् ।

 

मेरी बास्सै’ समूहको प्रहसनमा केदार घिमिरे, विल्सनविक्रम राई, सुनिता गौतम, मरीचमान श्रेष्ठले अभिनय गर्दैछन् । व्यंग्यकार मनोज गजुरेल एकल प्रस्तुतिमार्फत दर्शकमाझ आउने यो कार्यक्रममा हास्यकलाकार राजा राजेन्द्र पोखरेलले उद्घोषणका साथै केही प्यारोडी तथा क्यारिकेचर प्रस्तुत गर्नेछन् । व्यंग्य कवि शैलेन्द्र सिम्खडाले व्यंग्य कविता सुन्ने यो महोत्सवमा गायक तथा संगीतकार टीका भण्डारीले प्यारोडी गीत प्रस्तुत गर्नेछन् ।

 

पोखराका दर्शकहरूबीच हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्ने क्रममा करिब दुई दर्जन हास्यकलाकारको समूह हिजो बेलुका नै पोखरा पुगिसकेको छ । यसअघि काठमाडौंको गाईजात्रे महोत्सवलाई पोखरा पुर्‍याउने परम्पराविपरीत हास्यकलाकार दमन रूपाखेतीको नेतृत्वमा कलाकारहरू पोखरा पुगेका हुन् । आज शुक्रबारदेखि तीन दिनसम्म हाक्का–हाक्की हर्के हल्दार गाईजात्रा महोत्सवमा आज शुक्रबार साँझ ५ बजे प्रारम्भ हुँदैछ ।