नेपाल चलचित्र समीक्षक समाजले दोस्रो नेपाल फिल्म क्रिटिस्ट अवार्डको विजेताको नाम सार्वजनिक गरेको छ । समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा मंगलबार बसेको बैठकले उत्कृष्ट फिल्म ‘कबड्डी’, उत्कृष्ट निर्देशक ‘निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के)’, उत्कृष्ट पटकथा ‘रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)’, उत्कृष्ट अभिनेता ‘ दयाहाङ राई (कबड्डी)’, उत्कृष्ट अभिनेत्री ‘प्रियंका कार्की (सुन्तली)’, उत्कृष्ट छायांकन ‘अन्ड्रा बेलिसिया (सुन्तली)’, उत्कृष्ट सम्पादन ‘ बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)’ र पाश्र्व संगीत ‘जेसन कु“वर (टलकजंग भर्सेस टुल्के) विधातर्फ अवार्ड दिने टुंगो लगाएको हो ।
२०७१ सालमा रिलिज भएका फिल्महरु मध्येबाट ‘सर्ट लिस्ट’ गरी हेरिएका फिल्म मध्येबाट ८ विधामा छनोट गरिएको थियो । अघिल्लो विधामा सात विधामा बाँडिएको अवार्ड यो साल थप एक विधा थप्दै बाँड्न लागिएको हो । पाश्र्व संगीत थपिएको विधा हो ।
‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’को नाममा हुने अवार्डमा २०७१ सालभरि रिलिज भएका नेपाली फिल्महरु समेटिएका थिए । ‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सदस्यहरुले अवलोकन गरेका थिए । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छनोट गरिएको हो ।
सूची सार्वजनिक भएको केही दिनपछि एक समारोह आयोजना गरी विजेतालाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्ने समाजले जनाएको छ । समाजका सबै सदस्य जुरी रहने अवार्ड आयोजनाका लागि अनुप सुवेदीलाई जुरी संयोजक तोकिएको थियो ।