प्रदर्शन हुन करिब ४ दिन मात्र बाँकी रहँदा अभिनेता निखिल उप्रेती निर्देशित र अभिनित फिल्म भैरव सेन्सरको झमेलामा पर्ने देखिएको छ । फिल्म हेरिसकेपछि चलचित्र सेन्सर बोर्डले गृह मन्त्रालयलाई गुहारेको छ ।
यतिबेला मधेसमा आन्दोलन भैरहेको छ । फिल्मको कथावस्तुले मधेसलाई प्रभाव पार्ने देखेर सेन्सरले फिल्म पास गर्न नसकेको हो । फिल्मले मधेसको आन्दोलनलाई वढावा दिने या नेताहरुप्रति आँच पु¥याउने खतरा देखेर फिल्म पास नगरिएको हो । अब यो फिल्म गृह मन्त्रालयका सचिव र सभासदले हेर्नेछन् । यसपछि मात्र यो फिल्म सेन्सरबाट पास हुने या नहुने पक्का हुनेछ ।
अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको यो फिल्मले मधेसमा हुने गरेको आतंक, लुटपाटलाई उठाएको छ । फिल्ममा निखिल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । फिल्ममा अनु शाह, मुरलिधर पनि मुख्य भूमिकामा छन् । ५ बर्षपछि निखिल फिल्म क्षेत्रमा फर्किएका हुन् । उनको यो आशातित फिल्म भदौ ११ गतेबाट लाग्दैछ ।

