मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्बर ६`मा नेपाली पन भएको ठोकुवा

रेम बिक, पोखरा, 2015/08/23
नेपाली फिल्म ‘वडा नम्बर ६’ ले पोखराबाट प्रचार शुरु गरेको छ । नेपाल बन्द भएपनि दिपकराज गिरी र दीपाश्री निरौलाको आग्रहमा आईतबार पोखरामा अयोजित पत्रकार सम्मेलनमा धेरै पत्रकारहरु सहभागी भएका थिए ।  
 
 
पत्रकार सम्मेलनमा बोल्दै फिल्मका मुख्य अभिनेता समेत रहेका दिपकराज गिरीले फिल्म ‘वडा नम्बर ६’ सम्पूर्ण हिसाबले नेपालीपन बोकेको फिल्म भएको दाबी गरे । यसअगाडि यहि टिमले बनाएको फिल्म ‘६ एकान ६’लाई केहि हदसम्म हिन्दी फिल्मबाट प्रभावित भएको आरोप लागेपनि यो पटक ‘वडा नम्बर ६’मा कसैले पनि यस्तो खालको आरोप लगाउन नसक्ने उनले ठोकुवा गरे । 
 
‘सँधै नेपाली पन भएको फिल्म भएन भन्ने गुनासो दर्शक र फिल्म समिक्षकबाट आउन थाल्यो', उनले भने–‘यो पटक सम्पूर्ण हिसाबले नेपालीपन भएको फिल्म दर्शकसामु ल्याउँदैछौँ । हेरौँ, कत्तिको नेपालीपन बोकेको फिल्म हेर्नुहुँदो रहेछ ।’
 
फिल्म ‘वडा नम्बर ६’ असोज १ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । यो फिल्ममा ‘६ एकान ६’ कै अधिकांश मुख्य कलाकारहरु दोहोरिएका छन् । यो फिल्ममा भने अहिलेका चल्तीका कलाकारहरु दयाहाङ राई र प्रियंका कार्की पनि समेटिएका छन् भने अघिल्लो फिल्म '६ एकान ६' का निर्देशक र नायिका यो फिल्ममा अटेका छैनन् । 
 
पत्रकारहरुको प्रश्नमा नायिका र निर्देशक नदोहोरिनुमा त्यस्तो कुनै कारण नभएको दिपकले प्रस्ट पारे । ‘सबै फिल्ममा एउटै निर्देशक, कलाकार भयो भने त्यसमा खास फरक के आउला र ?’ उनले भने–‘त्यसैले फरकपनको लागि पनि यस्तो भएको हो ।’
 
‘६ एकान ६’को प्रदर्शनताका निर्माणपक्षका दिपक, दीपा, निर्मलसँग निर्देशक दिनेश डिसी र अभिनेत्री निता ढुंगानाबीच सम्बन्ध चिसिएको खबरहरु पनि बाहिर आएका थिए । पत्रकार सम्मेलनमै सहभागी भएकी दीपाश्री निरौलाले त्यस्तो खालको कुरा केहि नभएको आईतबार पोखरेली संचारकर्मीहरुमाझ बताईन् । 
 
पोखरामा आईतबार भएको फिल्म ‘वडा नम्बर ६’ को पत्रकार सम्मेलनको संचालन दिनेश डिसीले गरेका थिए । उनले दिपक र दीपा आफ्नो चेलाचेली भएकोले उनीहरुको सँधै भलो चिताउने बताए । ‘हामीबीच कुनै तिक्तता छैन । र, हुनेछैन ।’ उनले भने–‘यो फिल्ममा म निर्देशन नभएपनि उनीहरुसँगै छु । त्यस्तै मेरो फिल्मको प्रचारमा उनीहरु मसँगै हुनेछन् ।’
 
पोखरामा पत्रकार सम्मेलन सकेपछि दिपक, दीपा र दिनेशको टोली नारायणघाट प्रस्थान गरेको छ । देशव्यापी प्रचारमा हिँडेको टोली त्यसपछि हेटौँडा पुग्नेछ । प्रचारप्रसारलाई निकै तिव्र पारेर लैजाने उनीहरुले बताएका छन् । 
 
फिल्म ‘वडा नम्बर ६’लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र प्रियंका कार्कीबाहेक सबै मुख्य कलाकारहरु निर्माता पनि हुन् । सहकारी शैलीमा बनेको यो फिल्ममा जितु नेपाल, कुञ्जना घिमिरे, माग्ने बुढा, ताराचन्द्र बजगाँई, सुमन गिरी लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । 
 
फिल्ममा सुगम पोखरेल र राजनराज शिवाकोटीले संगीत भरेका छन् भने शंकर बिसी र गम्भिर विष्ट कोरियोग्राफर हुन् । दिपक बज्राचार्यले खिचको फिल्ममा रोशन श्रेष्ठ द्वन्द निर्देशक हुन् ।