अवार्ड मिति नजिकिदै गएपछि नेपाल फिल्म प्राविधिक संघले कलाकारसँग विशेष छलफल आयोजना गरेको छ । अध्यक्ष मनोज केसीको साथमा नेफ्टाका सदस्यहरुले कलाकारहरुसँग अब कसरी अगाडि जाने भन्ने बिषयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा अवार्डलाई कसरी भव्य र आकर्षक बनाउन सकिन्छ भन्ने बिषयमा कुरा भएको थियो । अधिकांश नयाँ पुस्ताका कलाकारको उपस्थितमा भएको छलफलका क्रममा कलाकारले दिने प्रस्तुतिका बिषयलाई केन्द्रित गरिएको थियो ।
यसपटक नेफ्टाले अघिल्ला विदेशमा आयोजना भएको कमि कमजोरीलाई सच्चाउँदै ऐतिहासिक रुपमा अवार्ड सम्पन्न गर्ने बताएको छ । स्टेज शोदेखि कलाकारको गहकिलो उपस्थित कसरी हुनसक्छ भन्ने बिषयमा कलाकारले आयोजकलाई सुझाव दिएका थिए ।
नेफ्टालाई विश्वका नेपालीले भारतको आइफा अवार्डसँग तुलना गर्न थालेको भन्दै कलाकारहरुले नेपाली फिल्मलाई विश्वका कुनामा पु¥याएकोमा नेफ्टालाई वधाई दिएका थिए ।
असोज ८ गते कतारमा आयोजना हुन लागेको अवार्ड समारोह नेफ्टाले अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

