प्रधानमन्त्री सुशील कोइरालाले विश्वेश्वर प्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’माथि बनेको फिल्म हेर्दै फिल्म भित्र इन्द्रमायाको रुपमा अभिनय गर्ने गरिमा पन्तको अभिनयको तारिफ गरेका छन् । शनिबार जय नेपाल हलमा आयोजित प्रथम प्रदर्शनमा पूरा समय फिल्म हेर्दै गरिमाको काम मन परेको प्रतिक्रिया दिएका हुन् ।
.jpg)
.jpg)
गरिमाले फिल्म भित्र इन्दमाया नामक पात्रको भूमिका निर्वाह गरेकी छिन् । गरिमाले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उक्त जानकारी दिएकी हुन् ।‘प्रधानमन्त्री ज्यूले शो सुरु नहुँदै इन्द्रमाया तिमी हौ भनेर सोध्नु भएको थियो । मैंले हो भनेपछि फिल्म हेरेपछि तिमीसँग भेट्छु भन्नु भएको थियो । नभन्दै उहाँले पूरै फिल्म हेर्नुभो र निस्किएपछि राम्रो गरेकी रहिछौ भनेर अँगालो मार्नु भो,’ गरिमाले भनिन् । उनले इन्द्रमायाको चरित्रलाई न्याय गरेको प्रतिक्रिया पाएको पनि बताइन् ।
प्रधानमन्त्रीसँगै फिल्म हेर्न आएका पूर्व प्रधानमन्त्री माधव नेपाल र काँग्रेस नेता रामचन्द्र पौडेलले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिएको निर्माता राकेश अडुकियाले जानकारी गराए । उनले भने, ‘प्रथम प्रदर्शनमा आउने सबैले फिल्मका बारेमा सकारात्मक प्रतिक्रिया दिनु भएको छ । हामी चाँडै नै राष्ट्रपति रामबरण यादवज्यूलाई पनि फिल्म देखाउने तयारी गरिरहेका छौं ।'
राकेशले फिल्म रिलिजको टुंगो नभएपनि वीपिसँग सम्बन्धित कुनै दिवसका उपलक्ष्यमा रिलिज गर्ने बारेमा सोचिरहेको बताए । कर्मा प्रोडक्सनको व्यानरमा बनेको फिल्म नेपालसँगै लण्डनमा पनि एक साथ प्रिमियर भएको हो । लण्डन प्रिमियरमा निर्देशक बाबुराम ढकाल र अभिनेता ध्रुव दत्त सहभागि भएका थिए ।
फिल्ममा गरिमासँगै सुशान्त कार्की, मदनदास श्रेष्ठ, भुवन चन्द आदि कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् ।पंन्चायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्तीको कथा पेश गर्छ । फिल्म वीपि स्कृति ट्रस्टसँगको सहकार्यमा बनेको हो ।

