अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजना भएको 'फेस्टिभल अफ ग्लोब’मा 'राते काइंला'को उपनामले चिनिने नेपाली फिल्मका चर्चित अनुहार अभिनेता सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

शनिबार राती अबेरसम्म चलेको उक्त अवार्ड समारोहमा अभिनेता थापासँगै भारतीय चर्चित गायक बप्पी लहरी, भियतनामी अभिनेत्री क्यू चिनलाई पनि लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो ।
अभिनेता थापाले ठट्यौली पारामा लाइफ टाइम एचिभमेन्ट अवार्ड पाए पनि आफू अझै तन्नेरी नै भएको बताए । उनले आफ्नो फिल्मी करियर यहिबाट शुरू हुने समेत बताए । उनी अझै २० देखि २५ फिल्ममा काम गरिरहने बताए ।
'साँघुरो', 'तुलसी', 'टाटा बाईबाई' लगायतका नेपाली फिल्म प्रदर्शन गरिएको यस अर्न्तराष्ट्रिय फेस्टिभलमा अभिनेत्रीहरू केकी अधिकारी, नन्दिता केसी, ऋचा घिमिरे, नम्रता झा तथा अभिनेता शुशांक मैनालीलाई सम्मान स्वरूप अवार्ड प्रदान गरिएको थियो ।

तस्विर : अनुशिल श्रेष्ठ
कार्यक्रममा अभिनेत्री केकी अधिकारी र नन्दिता केसीको साथमा नृत्य निर्देशक शंकर बिसीले नेपाली गीतमा नृत्य गरेका थिए । यता प्रचार गरिए अनुरूप विश्व चर्चित अभिनेता ज्याकी चेन, भारतीय गायक सोनु निगम भने कार्यक्रममा देखिएनन् ।
अर्न्तराष्ट्रिय स्तरमा यसरी कार्यक्रमा गरिनु चुनौती भएपनि प्रसस्त गृहकार्य नभएकाले कार्यक्रमा फितलो बनेको थियो । अवार्ड वितरणदेखि कार्यक्रम सञ्चालनमा कमजोरी देखियो । यस्तै आउने भनेका गायक सोनु निगमलाई पर्दामा देखाईएको थियो । दर्शकको उपस्थिती पनि सोचे अनुरूपको देखिएको थिएन ।

