देशका विभिन्न जिल्लाको साथै नेपाल बन्द समेत आयोजना हुन थालेपछि भदौमा चल्न लागेका नेपाली फिल्मको व्यापारलाई लिएर निर्माता नै चिन्तित हुन थालेका छन् । भूकम्पपछि भदौ महिनाबाट बल्ल नेपाली फिल्म तंग्रिने अपेक्षा थियो ।
तर, बन्न लागेको नयाँ संविधानमा आफ्ना विभिन्न माग राखेर हुन थालेका बन्दले नेपाली फिल्म मारमा पर्ने छनक देखिएको छ । एकपछि अर्को दलको नाममा हुन थालेका नेपाल बन्दले उठ्न लागेको नेपाली फिल्म फेरि थलिने संभावना बढेको छ । भदौ ४ गते भुकम्पछि ४ महिना पछि सरेको ‘होस्टेल रिटन्र्स’ चल्दैछ । फिल्मलाई लिएर निर्माता र फिल्म नगरि नै उत्साहित भैरहेको समयमा बन्दले यसलाई सवैभन्दा पहिले छुने देखिन्छ ।
भदौ ११ मा निखिल उप्रेतीको निर्देशन र अभिनय रहेको फिल्म ‘भैरव’ चल्दैछ । संविधान जारी हुनु भन्दा अगाडि र भैसकेपछि पनि बन्दको क्रम नरोकिने संभावना बढ्दै गएकाले निखिल पनि चिन्तित छन् । लामो समयदेखि प्रचार गरिएको फिल्मको हाइप अहिले राम्रो छ । तर, एकदिन बन्द हुँदा निर्मातालाई लाखौ घाटा हुन्छ र लगानी उठाउने संभावना कमजोर बन्छ ।
भदौ २५ मा लाग्ने ‘लभ सब’का निर्माता सुशिल पोख्रेल त यो देशमा गरि खान नपाइने भो भन्न थालेका छन् । सुशिलको यो तर्क पनि सही छ । बर्षदिन भन्दा लामो समयदेखि मिहिनेत गरेर बनाएको फिल्मलाई विभिन्न नाम र नारा दिएर हुने गरेका बन्दले प्रत्यक्ष असर पु¥याउँछन् ।
बन्दमा हल खुल्ने संभावना हुँदैन भने दर्शक पनि हलसम्म पुग्न सक्दैनन् ।यी फिल्म यदि बन्दको कारणले पछि सरे भने नेपाली फिल्मका लागि अर्को दुर्भाग्य हुनेछ । फिल्म प्रदर्शनको समय तालिका मिलाउन नै हम्मे हम्मे परेको अवस्थामा बन्दले निर्मातामा थप चिन्ता थपिदिएको छ ।

