Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तीन घुम्ती` फिल्म क्षेत्रकै लागि गौरव : गरिमा पन्त

फिल्मीखबर, काठमाडौं, 2015/08/14

अभिनेत्री गरिमा पन्तले आफू अभिनित फिल्म 'तीन घुम्ती' फिल्म क्षेत्रले नै गौरव गर्न लायक बनेको बताएकी छिन् । आज आयोजित फिल्मको ट्रेलर तथा फस्ट लुक सार्वजनिक कार्यक्रममा गरिमाले यो फिल्ममा सबै कलाकारले मिहिनेतका साथ काम गरेको बताइन् ।

 

 

 

यसअघि ‘झोला’ कृतिमाथि निर्माण भएको फिल्म खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार हात पारेकी नायिका गरिमा पन्तले कृति माथि फिल्म बन्नु नै फिल्म क्षेत्रको लागि ठूलो कुरा रहेको बताइन् । उनले भनिन्, ‘उत्कृष्ट फिल्ममा काम गर्न चाहनाको उपज हो 'तीन घुम्ती' । हामी सबैले राम्रो काम गर्ने प्रयास गरेका छौं । बाँकी दर्शकको हातमा छ ।’

 

बाबुराम ढकालको निर्देशनमा बनेको यो फिल्म गरिमाको सेरोफेरोमा घुमेको छ । फिल्ममा गरिमालाई धु्रव दत्त, सुशान्त कार्की, भुवन चन्द लगायतले साथ दिएका छन् । फिल्मको फस्ट लुकमा गरिमाकै जीवनमा आउने विभिन्न घटना क्रमलाई देखाइएको छ । यो फिल्ममा नारीका ३ रुप प्रेमिका, पत्नी र आमालाई चित्रण गरिएको निर्देशक बाबुराम ढकालले बताए ।

 

निर्देशक ढकालले ‘तीन घुम्ती’ लाई सर्जक र विशिष्ट व्यक्तिलाई देखाइसकेको र उहाँहरुबाट पाएको प्रतिक्रियाबाट आफु आशावादी रहेको खुलाए । उनले भने, ‘फिल्मको लागि कलाकार छान्न चुनौती भयो । ड्रेस र भाषाको पनि हामीलाई चुनौती आइपर्यो तर कलाकारले फिल्ममा राम्रो काम गरेका छन् ।' त्यस्तै निर्माता गोपाल सुवेदीले कृति अनुसार नै फिल्म छायाँकन गरिएको र त्यही अनुरुप ‘तीन घुम्ती’ तयार भएको बताए ।

 

कर्मा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । फिल्ममा गोपाल प्रसाद सुवेदी, पंकज जलन, बाबुराम ढकाल निर्माताको रुपमा छन् भने राकेश अडुकिया कार्यकारी निर्माता छन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत छ ।

 

साहित्यकार एंव जननयाक विश्वश्वेर प्रसार कोइरालाको चर्चित साहित्यिक कृति ‘तीन घुम्ती’ माथि निर्माण भएको फिल्म ‘तीन घुम्ती’ को आउँदो शनिबार नेपाल र लण्डनमा एकसाथ प्रिमियर गरिने भएको छ । नेपालको प्रिमियरमा प्रधानमन्त्री सुशिल कोइराला पनि सहभागी हुन सक्ने जननायक वी.पी कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले खुलाए । प्रधानमन्त्री कोइराला उक्त ट्रष्टका अध्यक्ष हुन् ।

Most Visited News (monthly)