Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहरी बस्तीमा `धुर्मुस सुन्तली` देउता

फिल्मीखबर, काठमाण्डौ, 2015/08/13
झण्डै दुई महिनाको मेहनत पछि हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको टोलीले काभ्रेको काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’ को निर्माण सम्पन्न गरेर स्थानीय पहरी समुदायलाई बुधबार हस्तान्तरण गरे । 
 
 
 
मेरी बास्सै, भद्रगोल र सगुन डटकमको सहकार्यमा निर्मित बीस घरको चाबी सहरी विकास मन्त्री डा. नारायण खड्काले परिवारका मूलीलाई प्रदान गरेका थिए । खानेपानी तथा सौचालयसहितको सुविधा सम्पन्न २० वटा आकर्षक घर निर्माण गरी पीडितहरुलाई हस्तान्तरण गरिएपछि स्थानीयवासी निकै खुसी छन् । 
 
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि पहरी समुदायका अधिकांशको घर ध्वस्त भएको थियो । उक्त उजाड गाउँमा धुर्मुस सुन्तलीको टिमले हरियाली ल्याएको छ । खुसीको बहार छाएको छ । 
 
‘भूकम्प गएपछि राहत बाँड्नका लागि गाउँ गाउँ जाँदा राहतले मात्र केही नहुने भएपछि घर बनाउने सोच आएको बताउँदै धुर्मुसले भने, 'झण्डै ७५ दिन बारीको पाटामा सुतेरै घर बनाईयो । निकै दु:ख गरेपनि भूकम्प पीडितले छानो पाउँदा खुसीको सिमा छैन ।'
 
मन्त्री डा. खड्काले सरकारले एकीकृत वस्ती विकासको लागि योजना बनाईरहँदा कलाकारहरुले निर्माण गरेको एकीकृत बस्तीको नमुनाले सरकारलाई नयाँ सोच र आयाम थपिदिएको बताए । 
 
हाँस्य कलाकार हरिवंश आचार्यले सरकारले भूकम्प पछि पुननिर्माणका लागि बनाउन लागेको प्राधिकरणमा धुर्मुस सुन्तलीलाई नै प्रमुख बनाइएमा मुलुकका अन्य स्थानमा यस्ता नमुना बस्ती बन्न सक्ने धारणा राखे । अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक काम गर्न निकै आनन्द आउने भन्दै त्यो आनन्दको अनुभूती अहिले धुर्मुस र सुन्तलीले गरिदिएको बताए । उनले यस सामाजिक कार्यले कलाकारको इज्जत समेत बढेको बताए ।  
 
सुन्तलीले घर बनाउनका लागि स्थानीय समुदायको सहयोगदेखि अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आफुहरु सदैव कृतज्ञ भईरहने बताईन् । 
 
त्यहाँ बनेका प्रत्येक घरमा तीन वटा कोठा र एक ट्वाइलेट बाथरुम छ भने सबै घरमा डिस जोडिएको छ । प्रत्येक घरको अगाडि एक–एकवटा धारा जडान गरिएका छन् भने ट्वाइलेटको मलमूत्रलाई सिधै्र बायोग्यासमा जोडेर ग्याँस उत्पादन गरिएको छ । त्यहाँ घुम्न आउने पाहुनाका लागि पाहुना घरको समेत निर्माण गरिएको छ ।
Most Visited News (monthly)