अभिनेत्री स्वेता खड्काले आफू फिल्म क्षेत्रमा फेरि फर्कन चाहेको खुलाएकी छिन् । श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वेताले आफूलाई हिम्मतको आवश्यकता भएको र हिम्मत पाएको खण्डमा यो क्षेत्रमा फर्कने बताइन् ।

स्वेताले २ बर्ष भित्र नयाँ फिल्म लिएर यो क्षेत्रमा आउन लागेको कार्यक्रममा जानकारी गराइयो । आँखाभरी आशु बनाउँदै भावुक मुद्रामा आफ्नो मन्तव्य राखेकी स्वेताले दु:खमा साथ दिने सबैलाई धन्यवाद दिइन् ।
स्वेताले आफूले श्रीकृष्णलाई कुनै पनि क्षण नविर्सेको बताउँदै ६ महिनासम्म बेहोसी हालतमा बिताएको बताइन् । अमेरिका गएर ३ महिना उपचार गरेको संस्मरण गर्दै स्वेताले अरुले भए यस्तो घडीमा हिम्मत गर्न नसक्ने भन्दै आफूमा कहाँबाट आँट आयो थाहा नभएको बताइन् । उनले अपरेशन गरेको भए ठिक हुन्थ्यो होला भन्दै आफूलाई परेको चोट जीवनभर निको नहुने पनि बताइन् । उनले साउन २४ गते आइतबार आफू सम्हालिन खोजेको तर नसकेको स्मरण गरिन् ।

श्रीकृष्ण श्रेष्ठको निधनपछि स्थापित भएको श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको स्थापना वि.सं २०७१ साल माघ १५ गते भएको थियो । आज आयोजना गरिएको कार्यक्रममा नायक शिव श्रेष्ठलाई श्रीकृष्ण श्रेष्ठ स्मृति कला सम्मान सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । नायक श्रेष्ठले श्रीकृष्ण अमर रहेको बताए ।
यस्तै, स्वर्गिय नायक शिव रेग्मीलाई नगद ५१ हजार सहित मरणोपरान्त सम्मान गरियो । उनकी श्रीमती ज्ञानु रेग्मीले सम्मान ग्रहण गरिन् । ज्ञानुले नायिका स्वेतालाई एक्लो जीवन सम्हालिएर बाँच्न र नरुन आग्रह गरिन् ।


चन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा गठित यो स्मृति प्रतिष्ठानले हरेक बर्ष फिल्म क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने बताएको छ । कार्यक्रममा श्रीकृष्ण श्रेष्ठको तस्बिर अंकित हुलाक टिकट तयार गर्नका लागि प्रतिष्ठानले प्रक्रिया अगाडि बढाइएको जानकारी गराइएको थियो ।
.jpg)
प्रतिष्ठानका सदस्य आकाश अधिकारीले श्रीकृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दै आफूहरुबाट कुनै गल्ती भएको खण्डमा माफी दिन आग्रह गरे । उनले गतबर्ष आफ्नै कारणले श्रीकृष्णको शव प्रज्ञा प्रतिष्ठानमा नराखिएको चर्चा चलेपनि त्यसो नभएको स्पष्ट पारे ।
कार्यक्रममा स्वर्गिय नायक श्रेष्ठको बिषयमा लेखिएको पुस्तक 'अमर नायक' पनि बिमोचन गरियो । पुस्तकलाई पत्रकार श्याम स्मृतले लेखेका हुन् ।
कार्यक्रममा श्रीकृष्णको बिषयमा तयार पारिएको वृत्तचित्र पनि प्रस्तुत गरियो । अभिनेता श्रीकृष्ण श्रेष्ठको गतबर्षको साउन २४ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । उनले निर्माण गरेको फिल्म ‘कोहिनूर’ले सबै रेकर्ड तोड्दै १२ करोड माथिको व्यापार गरेको थियो ।

