अभिनेता अनमोल केसीको डिमाण्ड त नेपाली फिल्मी बजारमा बढेको छ । तर, अनमोललाई फिल्म खेलाउन सजिलो छैन । अनमोलको हातमा थुप्रै स्क्रिप्ट छन् । तर, उनी काम गरि हाल्दैनन् ।
आफ्नै पिताको फिल्म ‘ड्रिम्स’मा काम गरेका अनमोलको यो फिल्म कहिले प्रदर्शनमा आउँछ टुंगो छैन । तर, अनमोललाई उनीसँग यसअगाडि काम गरेका निर्माताले अफर भने गरेका छन् । निर्माता सुनिल रावलले अनमोललाई 'सायद २'का लागि अफर गरेका छन् । तर, अनमोलले यो फिल्ममा खेल्ने या नखेल्ने टुंगो नभएको बताए । उनले यो फिल्मको कथावस्तु सारांशमा सुनेका पनि छन् । आफ्नो हातमा स्क्रिप्ट आएपछि बल्ल खेल्ने नखेल्ने अनमोलको भनाई छ ।
अनमोलले सुनिलसँग फिल्म होस्टेलमा काम गरिसकेका छन् । अनमोललाई नै लिएर 'होस्टेल' र 'जेरी' निर्देशन गरेका निर्देशक हेमराज बिसी पनि अहिले 'गुलाबी' फिल्म लेखिरहेका छन् । 'गुलाबी'मा अनमोलले काम गर्ने वा नगर्ने पक्का भएको छैन । अनमोललाई यो फिल्ममा अफर गरिएको छ । तर, उनी यो फिल्मको पनि कथा हातमा परेपछि मात्र भन्न सक्ने बताउँछन् ।
नेपाली फिल्ममा कथावस्तु हेरेर बर्षमा एक वा दुइवटा मात्र फिल्म खेल्ने कलाकार छैनन् भन्दा पनि हुन्छ । तर, अनमोल भने फिल्ममा बर्षमा विरलै काम गर्छन् र दर्शकलाई प्रतिक्षामा राख्छन् ।

