नेपाली फिल्म 'धौली'को विशेष प्रदर्शनी पोखरामा हुने भएको छ । यसअगाडि विशेष प्रदर्शनी भैसकेको 'धौली'लाई पुनः पोखरामा तोल्का युनिटी गाईजले प्रदर्शन गर्न लागेको हो ।
निर्माण यूनिट र विशेष प्रदर्शन गर्ने संस्थाले विहिबार सँयुक्त पत्रकार सम्मेलन गरेर फिल्म दर्शकको माग अनुसार विशेष प्रदर्शनी गर्न लागेको जानकारी दिए । 'यस अगाडी पोखरामा सफल च्यारिटी सो भई यो फिल्म दर्शकहरुको मागका कारण पुन: च्यारिटी शो हुन लागको हो' पत्रकार सम्मेलनमा फिल्मका निर्देशक घनश्याम लामिछानेले बताए ।
आउँदो शनिवार पोखराको विन्ध्यवासीनी चलचित्र मन्दिरमा विहान नौ वजे फिल्म प्रदर्शन हुने आयोजकले बताएका छन् । विशेष प्रदर्शनीबाट उठेको रकम मध्ये नाफाको २५ प्रतिशत रकम लुम्ले र ठुलाखेतका पहिरो पीडितलाई प्रदान गरिने भएको छ ।
'धौली'लाई पोखरेलीले निकै रुचाएका थिए । त्यसपछि निर्माण यूनिटले फिल्मलाई लेखनाथ, दाङ, हेटौडा, मलेसियाका विभिन्न स्थानमा प्रर्दशन गरिसकेको छ । र, यूरोपका सम्पूर्ण देशहरुको अधिकार विक्रि गरिसकेको छ । पोखराकै रिगेन गिरीले यूरोप राईट निर्माण यूनिटसँग किनेका हुन् ।
फिल्ममा गजित विष्ट, अनु शाह, गीता अधिकारी, प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । शम्भु थापा, किरणकुमार आत्रेय र सन्तोष आत्रेय फिल्मका निर्माता हुन् ।

