अभिनेता आर्यन सिग्देल आजबाट ३२ बर्षमा प्रवेश गरेका छन् । ३२ बर्षको उमेरसम्म आइपुग्दा उनले नेपाली फिल्म क्षेत्रमा नाम, दाम र इज्जत सबै कमाएका छन् । फिल्म किस्मतबाट नेपाली फिल्ममा पाइला राखेका आर्यनका लागि यो क्षेत्र नै सबथोक हो ।
आजसम्म दर्जनौ फिल्ममा काम गरेका आर्यनले आफ्नो करिअरमा सफल र असफल फिल्म थुप्रै दिएका छन् । कुनै फिल्म व्यापारिक रुपमा असफल भएपनि उनको कामको तारिफ भने भयो । कुनै फिल्म भने हिट भएतापनि उनको चर्चा खासै भएन । तर, पनि आर्यन नेपाली फिल्मका लागि अहिले पहिलो रोजाइका अभिनेता हुन् । उनीमाथि लगानी भएको रकम फिर्ता हुने संभावना आधा आधा छ । तर, पनि निर्माता पहिलो रोजाइमा उनलाई नै लिन चाहन्छन् ।अभिनेता सिग्देलले आफ्नो करिअरमा दर्जनौ हिट फिल्म दिएका छन् । तर, उनको काम र व्यापारिक रुपमा दुबैतर्फबाट सफल भएका ५ फिल्मको सूची हामीले निकालेका छौ ।
१. मेरो एउटा साथी छ ः व्यापारिक रुपमा पूर्ण सफल नभएपनि आर्यन सिग्देलका लागि यो फिल्म कोशेढुंगा नै मानिन्छ । अभिनेत्री नम्रता श्रेष्ठसँग पहिलो पटक देखिएका आर्यनको कामले सर्वाधिक चर्चा पाएको थियो । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा आर्यनले गरेको अभिनयकै कारण उनलाई अफरको बाढी लाग्यो । उनले यो फिल्ममा जीवन्त अभिनय गरेका थिए ।
२. फस्ट लभ: व्यापारिक रुपमा सफल मानिएको फिल्म फस्ट लभ आर्यनका लागि अर्को संझनलायक फिल्म हो । यो फिल्ममा आर्यनले एक चकलेटी प्रेमीको भूमिका निर्वाह गरेका थिए । आर्यनले यो फिल्ममा गरेको फन्नी र गम्भिर प्रकृतीको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो । निर्माताको गोजी पनि यो फिल्मले राम्रैसँग भरिदिएको थियो ।
३. कसले चो¥यो मेरो मन : रेखा फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा आर्यनले अभिनेत्री रेखा थापाको जोडीको रुपमा काम गरेका छन् । व्यापारिक रुपमा यो फिल्म आर्यनको करिअरको सफल फिल्म पनि हो । निर्माता छविराज ओझाको गोजीसँगै आर्यनको करिअर पनि उठाएको फिल्ममा कसले चो¥यो मेरो मन पनि पर्छ ।
४. नोभेम्बर रेन ः गतबर्षको वैशाखमा प्रदर्शनमा आएको फिल्म नोभेम्बर रेनले आर्यनको निरन्तर असफल फिल्मको श्रृङ्खला तोडेको थियो । अभिनेत्री रेखा थापाले आफूसँग काम नगर्दा आर्यन असफल भएको भनेर लगाउँदै आएको आरोप पनि यसले तोड्यो । जसका कारण पनि आर्यनका लागि यो फिल्म विशेष छ । अभिनेत्री नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको प्रेममा उभिएको एक प्रेमीको भूमिकामा देखिएका आर्यनको अभिनयलाई सबैले तारिफ गरे । निर्माता सुवास गिरीले हो यही माया होबाट गुमाएको लगानी यो बाट उठाए ।
५. माला : अभिनेता सिग्देलको करिअरका लागि यो फिल्म विशेष छ । यो फिल्मको रिलिज ताका पनि आर्यनले मालाको भूमिका आफ्नो करिअरको सम्झन लायक भूमिकाको रुपमा चर्चा गरेका थिए । डाक्टरको भूमिकामा देखिएका आर्यनले फिल्ममा नाच गाना भन्दा भिन्न रोल गरेका थिए । फिल्म त चलेन तर यो फिल्म आर्यनको विशेष फिल्म भित्र पर्छ ।
यी बाहेक आर्यनले आफ्नो करिअरमा किस्मत, हिफाजत, लज्जा, नाई नभन्नु ल ३ जस्ता कैयौ हिट फिल्म पनि दिएका छन् । जसले उनलाई आज नेपालको पहिलो रोजाईको अभिनेता बनाएको छ ।