नेपाली फिल्मको पाश्र्व गायनमा संगीतकारहरु पनि अगाडि देखिएका छन् । तर, संगीतकारबाट गायक बन्दा धेरैको करिअर ओझेलमा पनि परेको छ । धेरै संगीतकारहरु गायक बन्ने सपना लिएर सुरुवातमा यो फिल्डमा आएको पाइन्छ । संगीतकारबाट गायक बन्नेहरुमा ताराप्रकाश लिम्बु, चेतन सापकोटा, महेश खड्का, सुरेश अधिकारीदेखि बसन्त सापकोटासम्म छन् । जसमा ताराप्रकाशले जसोतसो गायकीलाई पनि अगाडि बढाएका छन् भने अन्यको चर्चा संगीतकारमै धेरै छ ।
पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोख्रेल पनि अब गायक बनेका छन् । फिल्म ‘ठमेल डट कम’को ‘तिमी नभए’ बोलको गीतमा आवाज दिएर अर्जुनले यो क्षेत्रमा पनि हात हालेका हुन् । फिल्मको गीतमा यसको निर्माताले आफ्नै स्वर मन पराएपछि आवाज दिएको अर्जुनले बताए । अहिले यो गीतको र अर्जुनको स्वरको पनि चर्चा फिल्मी बजारमा देखिएको छ ।
नेपाली फिल्ममा चर्चित गीत तयार पारेका संगीतकार अर्जुनले गीत गाउँदैमा संगीतकार असफल हुने कुरालाई नकारेका छन् । उनले, गीतमा आवाजको कनेक्शन हुन्छ भने गीत गाउन सकिने बताए ।अर्जुनले संगीतकार बन्नु अघि गायककै रुपमा केही एल्बम पनि निकालेका थिए ।

