नेपाली फिल्मका निर्माताको एउटा सोचाई छ, असार, साउनको झरीमा फिल्म चल्दैन । यस्तै, दशैको अगाडि आउने सोह्र श्राद्धमा पनि नेपाली फिल्म चल्दैन । निर्माता सोह्र श्राद्धमा फिल्म चलाउन भनेपछि डराउछन् ।
निर्माता दिपकराज गिरीलाई पनि असोज १ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’ मा सोह्र श्राद्धको आस थियो । असोज ८ गते प्रदर्शनमा आउने फिल्मले पनि ४ दिनपछि सोह्र श्राद्ध भोग्नुपर्ने भएकाले यो मितिमा फिल्म नै प्रदर्शनमा आउदैन भन्ने सोच उनको थियो । तर, भुकम्पका कारण फिल्म प्रदर्शन मिति तलमाथि भएपछि निर्माताले खाली मितिमा भकाभक फिल्म प्रदर्शन गर्न थालेका छन् ।
असोज ८ गते यसअगाडि नै ‘कामचोर’ नामक फिल्मले प्रदर्शन मिति तोकेको थियो । तर, अब यही मितिमा नै कात्तिक ३ गते चल्ने भनेको फिल्म ‘चंखे शंखे पंखे’ प्रदर्शनमा आउँदैछ । निर्माता सन्तोष सेनले कात्तिक ३ मा अन्य ३ वटा फिल्मसँग जुध्नु भन्दा एक महिना वर आउनु नै वुद्धिमानी ठानेका छन् ।
लामो समयदेखि निर्माणमै अल्झिएको फिल्म ‘डेस्टिनेशन काठमाण्डौ’ अब असोज १५ गते प्रदर्शनमा आउने भएको छ । सोह्र श्राद्ध चलिरहेको समयमा निर्माताले यो फिल्म चलाउने आँट गरेका छन् । स्वर्गिय निर्देशक दीपक रायमाझीले यो फिल्म निर्देशन गरेका हुन् ।

