अभिनेता आर्यन सिग्देल आफ्नो हिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बनाउने तयारी थालेका छन् । हाल धमाधम यो फिल्मको स्क्रिप्टमा काम भैरहेको छ ।
फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् । आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेको मेरो एउटा साथी छ लाई फिल्म क्षेत्रदेखि दर्शकले अत्याधिक रुचाएका थिए । यही फिल्मबाट आर्यन र नम्रताको जोडी नेपाली फिल्ममा जमेको थियो ।
मेरो एउटा साथी छ लाई निर्माण गरेको आइकोर फिल्मस्ले अहिले यो नाम दिन नमानिरहेको वुझिएको छ । तर, आर्यनले आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरबाट यो फिल्म बनाउन चाहन्छन् । यसैले पनि अहिले नामका लागि आर्यन र प्रभु शमशेर जबराको विभिन्न तबरले कुरा भैरहेको छ ।
आर्यन यो फिल्मका लागि गम्भिर भएर लागेका छन् । निर्माता सुवास गिरीसँग नोभेम्बर रेनमा सहकार्य गरेका आर्यनले उनी गिरीसँग मिलेर फिल्म क्लासिक पनि निर्माण गर्दैछन् । यसपछि आर्यनले ‘मेरो एउटा साथी छ २’ को कामलाई अगाडि बढाउनेछन् । निर्देशक दिनेश राउत पनि फिल्म बन्न लागेको कुरा स्विकार गर्छन् । अहिले नै स्क्रिप्टमा काम भैरहेकाले यस बिषयमा विस्तृत कुरा यसै भन्न नसिकने उनको भनाई छ ।

