चलचित्र विकास बोर्डले फिल्म निर्माता तथा निर्देशकका लागि तोकेको नयाँ मापदण्ड औपचारिक रुपमा सार्वजनिक गरेको छ । बोर्डले शनिबार पत्रकार सम्मेलन गर्दै ‘चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२’ मापदण्डमा केही संशोधन सहित सार्वजनिक गरेको हो । फिल्मकर्मीहरुको सुझाव आएपछि मापदण्ड संशोधन सहित आएको हो ।
गत असार १ देखि लागू भइसकेको मापदण्ड अनुसार नयाँ व्यक्तिले फिल्म निर्देशन गर्नुअघि तीनवटा फिल्ममा सहायक निर्देशन गरिसकेको हुनुपर्नेछ । यसअघि पाँचवटा फिल्मको अनुभव चाहिने मापदण्ड थियो । पाँचवटा भिडियो फिल्म वा डकुमेन्ट्री निर्देशनको अनुभव लिएकाले पनि सोभैm फिल्म निर्देशन गर्न पाउनेछन् । तर ती भिडियो फिल्म वा डकुमेन्ट्री निर्माणको इजाजत चलचित्र विकास बोर्डबाट लिएको र सेन्सर पास भइसकेको हुनुपर्नेछ ।
त्यस्तै बोर्डबाट निर्माण इजाजत लिई सेन्सर पास भएका डकुमेन्ट्री वा सर्ट फिल्मले विदेशको कुनै फिल्म फेस्टिभलमा पुरस्कार जितेको छ भने उक्त फिल्म वा डकुमेन्ट्रीका निर्देशकले एकैपटकमा फिल्म निर्देशन गर्न पाउनेछन् । टेलिफिल्म र टेलिसिरियलबाट आउनेलाई पनि निर्देशनको अनुमति दिइने मापदण्डमा उल्लेख छ । पाँचवटा टेलिफिल्म वा एउटा ५१ भागको सिरियल निर्देशन गरिसकेकाले सिधै फिल्म निर्देशन गर्न सक्नेछन् ।
चलचित्र क्षेत्रको कुनै एक विधामा निरन्तर १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई मापदण्ड लागू हुनेछैन । निर्माण, निर्देशन, प्रदर्शन, वितरण, प्राविधिक, द्वन्द्व, गीत, संगीत, गायन, लेखन, नृत्य, पत्रकारिता र कलाकारिता लगायतलाई चलचित्रका विधा मानिएको छ ।पहिलोपटक फिल्ममा लगानी गर्न चाहनेले पनि एउटा फिल्ममा अर्को कुनै मान्यताप्राप्त कम्पनीसँग सहकार्य गरेको हुनुपर्नेछ ।
फिल्म क्षेत्रमा १० वर्षको अनुभव बटुलेका, तीनवटा भिडियो फिल्म निर्माण गरिसकेका वा फिल्म विषय लिई स्नातक उत्तीर्ण गरेकाहरुको कम्पनीले सोभैm फिल्म बनाउन पाउनेछन् । कसैले विश्व कीर्तिमान राख्ने उद्देश्यले फिल्म निर्देशन चाहेको खण्डमा पनि विकास बोर्डको फिल्म परामर्श समितिको अध्ययनपछि अनुमति दिइने व्यवस्था गरिएको छ । चलचित्र निर्माण र निर्देशन गर्नका लागि उमेरको हदबन्दी लाग्ने छैन भन्ने बुँदा पनि मापदण्डमा उल्लेख गरिएको छ ।

