अभिनेता राजेश हमाल तथा अभिनेत्री करिष्मा मानन्धरले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपका पक्षमा अभिमत जाहेर गरेका छन् । शनिबार होटल हिमालयनमा भएको एक कार्यक्रममा उनीहरुले अबको कार्यकारी जनताको प्रत्यक्ष मतबाट चुनिनु पर्ने धारणा राखे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आयोजना गरेको अन्तरक्र्रियामा सहभागि हुन उनीहरु त्यहाँ पुगेका थिए ।
नायक राजेश हमालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री देशका लागि उपयुक्त हुने धारणा राखे । ‘संसदीय प्रणाली खत्तम हो भनेर होइन, अहिलेको अस्थिरताबाट मुक्ति पाइन्छकी भन्ने आशमा प्रत्यक्ष कार्यकारीको पक्षमा छु’, हमालले भने, ‘हामीले संसंदले चुनेका व्यक्ति धेरै खेप्यौं । अब प्रत्यक्ष कार्यकारी चुन्ने प्रणालीलाई मौका दिउँ ।’ उनले यसले पटक पटक सरकार परिवर्तन हुने खेलबाट मुक्त गर्दै देशमा स्थिरता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै करिष्मा मानन्धरले चलचित्र हेर्न दर्शक आफै हलसम्म पुगे जस्तै प्रत्यक्ष कार्यकारीको व्यवस्था भए जनताले राम्रो मान्छेलाई आफ्नो शासक बनाउने अवसर पाउने बताइन् । प्रत्यक्ष निर्वाचित कार्यकारीलाई जनताको डर हुने हुँदा ऊ जनताप्रति उत्तरदायी रहने उनको धारणा थियो । कार्यक्रममा निर्माता तथा निर्देशक तुलसी घिमिरे र अशोक शर्माले पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको समर्थनमा आफ्नो धारणा राखेका थिए ।

