फिल्ममा जब २ अभिनेता हुन्छन्, तब अभिनेताको प्रतिस्पर्धा खुबै हुन्छ । २ अभिनेत्री हुने फिल्मको पनि हाल उस्तै हो । तर, जब फिल्ममा सिंगल अभिनेत्री हुन्छिन्, उनलाई काम देखाउन सकेको खण्डमा ठूलै फाइदा हुन्छ । भदौ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म लभ सबमा पनि नव अभिनेत्री करिश्मा श्रेष्ठको हकमा फाइदा हुने देखिएको छ । यो फिल्मबाट आफ्नो करिअरको सुरुवात गर्न लागेकी करिश्मालाई अभिनय देखाउन सकेको खण्डमा तारिफ मात्र होइन काम पनि मिल्नेछ ।
तर, उनलाई चुनौती बनेका छन्, दुई अभिनेता सलोन बस्नेत र संयम पुरी । फिल्म बजारमा आफ्नो छाप बनाइरहेका यी दुई कलाकारको अगाडि करिश्मा फिक्का बन्ने संभावना पनि छ । तर, अभिनय राम्रो गरेको खण्डमा ७ बर्षकी बालिका पनि बलिउड सुपरस्टार सलमान खान भन्दा चर्चित बन्छिन् भन्ने त बजरंगी भाइजानकी हर्षाली मल्होत्राले देखाइसकेकी छिन् ।
सुशील पोख्रेल र नरेन्द्र महर्जनको निर्माणमा तयार भएको यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
निर्माता पोख्रेल अभिनेत्री छान्दै जाने क्रममा करिश्माले खेल्न इच्छा जनाएपछि लिएको र उनले काम पनि राम्रो काम गरेको बताउँछन् । करिश्मा पनि आफू फिल्म क्षेत्रमा लामो रेसको घोडा बन्न आएको बताउँछिन् । यस्तो अवस्थामा उनका लागि लभ सब चल्न पनि जरुरी छ । सलोन बस्नेतकी प्रेमिका समेत रहेकी करिश्माले अन्य केही फिल्ममा काम भने गरिसकेकी छिन् ।

