अहिले फिल्ममा काम गर्ने अभिनेता र अभिनेत्रीको शैली र रुचीको बारेमा जान्नका लागि टाढा जानुपर्दैन, उनीहरुको फेसबुक पेजलाई नियाल्दा हुन्छ । फेसबुकमा उनीहरुले देखाउने कार्यशैली, पोष्ट गर्ने बिषयले पनि उनीहरुको दिनचर्या सजिलै थाहा हुन्छ ।
नेपाली फिल्मका धेरै कलाकारले फेसबुक र ट्विटरको प्रयोग अझै वुझेका छैनन् । धेरैलाई लाग्छ, फेसबुक भनेको आफ्नो तस्बिर र सामान्य कुरा शो गर्ने स्थान हो । तर, बलिउड कलाकारले ट्विटरमा लेखेका कुरा मिडियाका लागि ५० प्रतिशत भन्दा बढी समाचारको श्रोत बन्ने गरेको छ । नेपाली कलाकर्मीको हकमा भने यो देखिदैन ।
अधिकांश नयाँ कलाकारका लागि फेसबुक अहिले फिल्म खेलेका, भिडियो खेलेका, खाना खाएका, घुमेका तस्बिर पोष्ट गर्ने स्थान भनेको छ । कलाकार भैसकेपछि कतिपय कुरामा सामाजिक र राष्ट्रिय जिम्मेवारी पनि हुन्छ, तर नेपाली कलाकार यो कुरामा धेरै पछि छन् । अभिनेता आर्यन सिग्देल फेसबुकमा आफ्ना तस्बिर भन्दा अन्य कुरा पोष्ट गर्दैनन् । उनलाई देशको राजनीतिक अवस्था, फिल्मप्रतिको भनाई र समाजसँग जोडिएका कुनै पनि बिषयमा मतलब नै छैन ।
अभिनेता राजेश हमालले पनि फेसबुकलाई आफू घुमेका, पत्नीसँग हिडेका र खाएका तस्बिर पोष्ट गर्दैमा विताएका छन् । हमाल जस्तो देशका चर्चित कलाकारले विभिन्न बिषयमा आफ्ना भनाई राख्ने, सामाजिक कार्यलाई अगाडि बढाउन यस्ता संजालको प्रयोग गर्नुपर्ने हो । तर, केही समय अगाडिबाट मात्र फेसबुकमा जोडिएका राजेशले पनि यो बिषयलाई पछि नै राखेका छन् ।
अभिनेत्री रेखा थापा कहिलेकाही फेसबुकमा देशका कुरा गर्छिन् । यो बाहेक उनको पनि फेसबुक स्क्यान्डलका कुरा लेख्ने, तस्बिर पोष्ट गर्ने र सामान्य भन्दा सामान्य आफ्ना बारेमा सकारात्मक लेखिएका समाचार पोष्ट गर्नमा नै वितेको छ । रेखाले पनि देश दुनियाँ, राष्ट्रियता, खेलकुद र समाजसँग जोडिएका कुरालाई फेसबुकमा कमै स्थान दिन्छिन् ।
अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की भने यो कुरामा केही अगाडि छन् । खेलकुद, देशसँग जोडिएका कुरामा उनीहरु केही बढी बिचार पोष्ट गर्छन् । जसका कारण पनि उनीहरु समाचारमा बारम्बार रहेको देखिन्छ ।
कलाकारका लागि फेसबुक दैनिक छायांकनका तस्बिर पोष्ट गर्ने मात्र स्थान बन्नु हुदैन । फेसबुक मैले काम गरे है, म पनि कलाकार भएँ है, म पनि मोडल हुँ भनेर प्रचार मात्र गर्ने स्थान होइन । कलाकारले यस्ता कुरामा अझ बढी ध्यान पु¥याउन जरुरी छ ।

