पूराना निर्देशक किशोर रानामगरको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘प्रतिविम्ब’को पोखरामा विशेष प्रदर्शनी हुने भएको छ । साउन ९ गते शनिबार हुने प्रदर्शनीबाट उठेको रकम भूकम्प पीडितलाई हस्तान्तरण गरिने निर्माण यूनिटले जनाएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि निर्माण यूनिटले यस्तो जानकारी दिएको हो ।
पोखरामा हुने विशेष च्यारिटि शो को आयोजना मगर राष्ट्रिय मुक्ति मोर्चाले गरेको छ । मिस मगर यूनिटले च्यारिटि शोमा विशेष सहयोग गरिरहेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य अभिनेता मनसुदन थापा र अभिनेत्री पवित्रा सारु मगर सहभागी थिए ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता मनसुदनले भूकम्प पीडितको लागि सहयोग जुटाउन गरिएको विशेष च्यारिटि शोमा सबैलाई सहभागी हुन आह्वान गरे । ‘केहि खर्च कटाएर उठेको रकमको ३३ प्रतिशत रकम हामीले भूकम्प पीडितलाई छुट्टाएका छौँ’, उनले भने–‘पीडितलाई सहयोग गर्ने यो अभियानमा सबैको साथ रहनेछ भन्ने विश्वास छ ।’ अभिनेत्री सारु मगरले पनि फिल्म निकै राम्रो बनेको हुँदा दर्शकहरुले भूकम्प पीडितलाई सहयोगका साथै मनोरञ्जन पनि लिने बताईन् ।
द लाफा आर्टस इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्म किशोर रानामगरको लेखन र निर्देशन रहेको छ । राजकुमार बगरको शब्द, संगीत र कथा रहेको फिल्मको कोरियोग्राफÞी कमल राईले गरेका छन्् । शंकर महर्जनको द्वन्द्व रहेको फिल्मलाई यम आलेमगरले खिचेका हुन् ।
फिल्ममा संचारकर्मी तथा गायक मनसुधन थापामगर, पवित्रा सारु मगर, गायक कुमार राना, मिस मगर हङकङ कमला पुनमगर लगायत कलाकरको अभिनय रहेको छ । मगर संस्कृतिमा आधारित फिल्म ‘प्रतिविम्ब’ को निर्माताहरु ज्ञानु थापा मगर, के.बी राना, नेत्र थापा, चन्द्रज्योती आलेमगर, अनिता रानामगर, छक्कु उदासी र गोमा पुन लगायत छन् । फिल्म २५ लाख रुपैयाँ लगानीमा तयार भएको हो । फिल्म चाँडै नै देशव्यापी रिलिज गर्ने तयारीमा निर्माण यूनिट लागेको छ ।

