चलचित्र बिकासबोर्डले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिँदै राज्यका नीतिमा चलचित्र सम्बन्धी नीति पनि थप्न आग्रह गरेको छ । मस्यौदाको धारा ५५मा रहेको राज्यका नीतिहरुमा थप खण्ड थप्दै चलचित्र सम्बन्धी नीति पनि थप्न सुझाव दिएको हो ।
त्यसैगरी बोर्डले सोही धारामा रहेको मस्यौदामा रहेको सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीतिमा ६ खण्ड रहेकोमा सातौं खण्ड थप्न आग्रह गर्दै चलचित्रले कला मार्फत नेपाली भाषा, साहित्य र कलाको श्रीवृद्वि गर्ने र सामाजिक, सांस्कृतिक रुपान्तरणमा मद्दत गर्ने भन्दै स्वदेशी फिल्मको संवद्र्वन र विकासमा जोड दिने बुँदा थप्न सुझाव पेश गरेको छ ।
त्यसैगरी बोर्डले सोही धाराको खण्ड ४ मा रहेको बुँदामा कला, साहित्य, संगीतसँगै फिल्मलाई पनि समेट्न आग्रह गरेको छ । मंगलबार संविधान सभा सचिवालयमा सुझाव पेश गरेको बोर्डले धारा ५५ कै खण्ड ६ मा ‘चलचित्रको संरक्षण र विकास गर्ने’ वाक्य थप्न सुझाव दिएको छ ।
बोर्डले २०७२ सालको प्रारम्भिक मस्यौदामा स्वदेशी फिल्मको उत्थान, प्रवद्र्वन र विकासका लागि संविधानम किटानी हुनुपर्ने आवश्यकता रहेकाले राज्यको नीतिमा नै माथि उल्लेखित बुँदा थप्न आग्रह गरेको हो । बोर्ड अध्यक्ष राजकुमाई राईको नेतृत्वमा गएको टोलीले सुझाव हस्तान्तरण गरेको हो । टोलीमा सुरेश दर्पण पोखरेल, राजेन्द्र केसी, रुपा राना र बोर्ड कर्मचारीको सहभागिता थियो ।

