नेपाली फिल्मका निर्माता तथा निर्देशक अभिनेता भन्दा अभिनेत्रीलाई आफ्नो ब्यानरमा निरन्तर दिन्छन् । कुनै समय शिव रेग्मीका लागि निरुता सिंह र झरना थापा खुबै प्यारी थिए । तुलसी घिमिरेका लागि पनि कुनै समय निरुता बाहेकका बिकल्प हुन्थेनन् । नरेश पौड्यालले त अरुणिमा लम्सालका लागि ‘दिपशिखा’ भन्ने फिल्म नै निर्माण गरे । यस्ता उदाहरण नेपाली फिल्ममा खुबै देखिन्छ । छविराज ओझाले अभिनेत्री रेखा थापालाई लामो समयसम्म आफ्नो फिल्ममा लिए ।
निर्माता तथा निर्देशक विकास आचार्यका लागि अभिनेत्री ऋचा सिंह ठकुरी धर्मपुत्रीको रुपमा थिइन् । तर, उनले ऋचालाई ‘नाई नभन्नु ल’ र ‘म तिम्रो भैसके‘मा लिएपछि लिएनन् । ऋचा पनि राम्रो ब्यानरमा काम गरेर पनि चल्न सकिनन् । यसपछि विकासको ब्यानरमा प्रवेश गरेकी थिइन्, प्रियंका कार्की । अब, प्रियंका कार्की विकासका लागि सबैभन्दा नजिककी अभिनेत्री भैसकेकी छिन् । उनले यो फिल्मको दोश्रो र तेश्रो सिक्वेलमा प्रियंकालाई नै लिए । अब, चौथो फिल्ममा उनका लागि प्रियंका नै मुख्य भरोसा बनेकी छिन् । कारण, यो फिल्ममा कुनै पनि चल्तीका अभिनेता हुने छैनन् । उनले पहिलो र दोश्रो सिक्वेलमा अभिनेता जीवन लुईंटेललाई लिएपनि तेश्रोमा आर्यन सिग्देललाई भित्र्याएका थिए । तर, चौथोसम्म आइपुग्दा ‘नाई नभन्नु ल’ को सिक्वेलमा न जीवन छन् न त आर्यन । तर, प्रियंका निरन्तर छिन् ।
अभिनेत्री एकै लिने कुरामा निर्माता छविराज ओझा अगाडि छन् । उनले फिल्म ‘लज्जा’बाट डेब्यू गराएकी अभिनेत्री शिल्पा पोखरेल ‘हवल्दार सुन्तली’मा पनि दोहोरिइन् । बाहिर चर्चा जे भएपनि छविले निर्माण गर्न लागेको नयाँ फिल्म ‘किस्मत २’ मा पनि अभिनेत्रीको रुपमा शिल्पा नै हुनेछिन् । उनकै ब्यानरमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देल, जीवन लुइटेल, आयुष रिजालको अभिनेता आए गए । तर, अभिनेत्री भने लामो समयसम्म टिक्छन् । अहिले छविको लागि शिल्पा र विकासका लागि प्रियंका सवैभन्दा प्यारा अभिनेत्रीको रुपमा देखिएका छन् ।

