सलमान खान अभिनित फिल्म ‘बजरंगी भाईजान’ले रिलिजको तेस्रो दिनसय करोड कमाउँदै रेकर्ड बनाएको छ । तीन दिनमा सय करोड कमाउने ‘बजरंगी भाईजान’तेस्रो बलिउड फिल्म बनेको छ । यसअघि ‘ह्याप्पी न्यु इयर’ र ‘धूम ३’ले तीन दिनमा सय करोड कमाएका थिए ।
आइतबार यो फिल्मले भारतभर ३८ करोड ७५ लाख भारु कमाउँदै तीन दिनको कमाइ १०२ करोड ६० लाख पु¥याएको हो । रिलिजको दिन २७ करोड २५ लाख कमाएको फिल्मले शनिबार ३६ करोड ६० लाख उठाएको थियो ।सलमानको यो आठौं सय करोड क्लबवाला फिल्म हो । यससँगै उनी सबैभन्दा बढी सय करोडवाला फिल्म दिने अभिनेता बनेका छन् । सलमानको अघिल्लो फिल्म ‘किक’को भन्दा ‘बजरंगी भाईजान’को कमाइको रफ्तार बढी छ ।
निर्देशक कबिर खानको पनि यो दोस्रो सय करोडवाला फिल्म हो । यसअघि उनीद्वारा निर्देशित सन् २०१२ को फिल्म ‘एक था टाइगर’ले दुई सय करोडको आँकडा छोएको थियो । उक्त फिल्ममा पनि सलमान खानको मुख्य भूमिका थियो । सलमानको फिल्मले प्रदर्शनको तीन दिनमै सय करोड कमाएको यो पहिलो अवसर हो । यसअघि सन् २०१४ फिल्म ‘किक’ले तीन दिनमा ८८ करोड ८३ लाखमात्र कमाएको थियो । सय करोड क्लबमा प्रवेश पाएका सलमानका बाँकी फिल्ममा ‘रेडी’, ‘जय हो’, ‘दबंग’, ‘दबंग २’ र ‘बडीगार्ड’ पर्छन् ।
पहिलो तीन दिनमा सर्वाधिक कमाउने फिल्म ‘ह्यापी न्यु इयर’ हो । शाहरुखको यस फिल्मले तीन दिनमा १०८ करोड ८६ लाख कमाएको थियो । त्यसपछि आमिर खानको ‘धूम ३’ले तीन दिनमा १०७ करोड ६१ लाख आम्दानी गरेको थियो ।भारतीय बजारमा सर्वाधिक आम्दानी गर्ने हिन्दी फिल्म चाहिँ ‘पिके’ हो । यसले ३४० करोड ८ लाख रुपैयाँ उठाएको थियो ।

