अभिनेता जीवन लुइटेललाई रिप्लेस गर्दै ‘नाई नभन्नु ल ३’ मा अटाएका अभिनेता आर्यन सिग्देल अब नाई ‘नभन्नु ल ४’ मा नहुने पक्का भएको छ ।
अभिनेता सिग्देलले ‘नाई नभन्नु ल ४’ पनि खेल्ने निर्देशक विकास आचार्यले नै केही समय अगाडि बताएका थिए । तर, आर्यनले अर्का कलाकार अनुभव रेग्मीसँग पूर्ण समय दिनुपर्ने भएपछि विकासले नयाँ कलाकारको खोजी गरेका छन् ।
फिल्ममा अभिनेत्रीको रुपमा प्रियंका कार्कीले काम गर्ने पक्का छ । अभिनेता सिग्देलले सुरुवातमा फोन सम्पर्क गर्दा खासै रुची नदेखाएको र पछि पुरा समय दिन नसक्ने वुझेपछि नयाँ कलाकारको खोजी गरिएको विकासको भनाई छ । फिल्मको हाल गीत रेकर्ड गर्ने काम भैरहेको छ ।
आर्यनले ‘नाई नभन्नु ल ४’ गर्नकै लागि ‘नाई नभन्नु ल ३’ मा सामान्य भूमिका गरेको चर्चा पनि चलेको थियो । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । यसको अगाडिका ३ भागहरु सफल छन् ।

