नेपालीमा एउटा चर्चित उखान छ ,‘नानी पाउनु कैले कैले कोक्रो बन्नु अहिले’ । उखानको अर्थ हो काम सुरु गरेपछि मात्र यसका बारेमा गफ गरेको राम्रो । यही उखान आजभोलि हाम्रो फिल्म उद्योगसँग दुरुस्त मेल खान जान्छ । आजभोलि निर्माताहरु फिल्मको नाम राख्न पाएको छैन रिलिज डेट घोषणा गर्न तम्सन्छन् । यस्तो लाग्छ नेपाली फिल्मका निर्माताहरुलाई फिल्म बनाउन भन्दा पनि चलाउन हतारो छ । परिणाम निस्कन्छ – फिल्म फ्लप निर्माता गायब ।
यो बर्ष पनि छायांकनमा नै नगएका फिल्महरुले चलाउने हतारो गरिसकेका छन् । राम्रा मिति पहिले नै ताक्ने र पछि अर्कैले मिति तोकेमा आफूले पहिले रोजेको भन्दै चर्चामा उत्रिन नेपाली फिल्म मेकरहरुलाई कसलै सिकाउनु पर्दैन । यो बर्ष पनि धेरै निर्माताले फिल्मको निर्माणको थालनी नगर्दै मिति तोकेर स्थान ओगट्न थालिसकेका छन् । चैत्रको अन्तिम दिन नै निर्माता सुवास गिरी र आर्यन सिग्देलले फिल्म क्लासिकको प्रदर्शन मिति तोके । फिल्म माघ २९ गतेबाट चल्ने पक्का भयो । तर, साउन लागिसक्दा पनि फिल्मको छायांकन सुरु भएको छैन ।
लडाइकै कुरा गर्ने हो भने, जहिले पनि दशै, तिहार, माघे संक्रान्ती र नयाँ बर्ष नेपाली फिल्मका लागि विशेष भन्छन् । यो मितिमा निर्माताहरु सधैं एक अर्कासँग भिड्छन् ।
फिल्म ‘पशुपतिप्रसाद’ले फागुन २१ लाई मिति तोकेर बल्ल छायांकन सुरु गरेको छ । निर्देशक दिपेन्द्र के खनालले कैै निर्देशन रहने अर्को फिल्म ‘चपली हाइट २’ को त छायांकन कहिले सुरु हुन्छ भन्ने नै टुंगो छैन । तर, फिल्म चैत्र २६ गते चल्ने भन्दै मिति तोकिएको छ । निर्देशक विकास आचार्यले ‘फिल्म नाई नभन्नु ल ४’ को सुटिङ भदौ दोस्रो साताबाट सुरु गर्दैछन् । तर, उनले पनि चैत्र २६ गतेलाई मिति तोकेको लामै समय भैसकेको छ ।
वितरक तथा निर्माता गोविन्द शाहीले फिल्म ‘कहाँ छौ कहाँ २’ बनाउने सुर अझै कसेका छैनन् । तर, उनले यो बर्षको सुरुवातमै चैत्र २६ लाई मिति तोकिदिएका छन् । अभिनेत्री रेखा थापाले फिल्म रामप्यारी वैशाखमा छायांकन गरेर दशैका चलाउने बताएकी थिइन् । तर, भुकम्प आएपछि उनी पनि चैत्र २६ गते नै पुगेकी छिन् । उनले पनि सामाजिक सञ्जालबाटै चैत्र २६लाई रिलिज मिति तोकिदिएकी छिन् । तर यो फिल्मको छायांकन कहिले सुरु हुने अझै टुंगो छैन ।
फिल्म ‘किस्मत २’ लाई पनि वैशाखमा छायांकन गरेर तिहारमा चलाउने तयारी निर्माता छविराज ओझाले गरेका थिए । तर भूकम्पका कारण उनको योजना तुहियो । तिहारको मिति गोपाल कायस्थको ‘लुटेरा’लाई दिँदै उनले पनि चैत्र २६ मै फिल्म रिलिज गर्ने बताउँदै आएका छन् जबकी उनको पनि फिल्मको सुटिङ सुरु भएको छैन ।
निर्देशक विकास आचार्यले छायांकन नहुँदै फिल्मको मिति तोकिनु म आउँदैछु भनेर जानकारी दिनु रहेको बताए । उनले भने, ‘दर्शकले राम्रा ब्यानरका चलचित्रलाई पहिले नै प्रतिक्षा गरेर बसेका हुन्छन् । जसका कारण उनीहरुलाई सुरुवातमै जानकारी दिन यस्ता ब्यानरले मिति तोक्छन् । यसका फाइदा बेफाइदा दुवै छन् ।’
आफूमा पूर्ण रुपमा आत्मविश्वास भएपछि मात्र मिति तोकिनु फाइदाजनक रहने विकासको भनाई छ । उनले विना तयारी हचुवाको भरमा मिति तोकेर फिल्म प्रदर्शन गर्दा फिल्मको पोस्ट प्रोडक्सन प्रभावित हुने र फिल्मको आउटपुट राम्रो नहुने बताए ।
फिल्म निर्माणमा ध्यान नदिई अहिले निर्माता तथा निर्देशकलाई राम्रो मिति बुक गर्न नै हतार परिरहेको छ । राम्रो फिल्म बनाएको खण्डमा जुनसुकै मितिमा पनि दर्शकले हेरेकै छन् । यसैले छायांकन नगर्दै मिति तोक्नु भन्दा पहिला राम्रो फिल्म निर्माणमा ध्यान दिनु सबैका लागि हितकर छ ।

